मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पलाई नेतान्याहूको सन्देश– चाहेका सबै काम म गर्दिनँ

baahrakhari.com · Mon Jun 22 04:52:37 GMT 2026

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकार्काको इसारामा चल्ने नगरेको स्पष्ट पारेका छन् । अमेरिकाको हरेक चाहनाअनुसार इजरायलले निर्णय नगर्ने उनले बताएका हुन् ।

ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै इजरायलको लेबनान नीतिमाथि सार्वजनिक रूपमा आलोचना गरेका थिए । त्यसपछि नेतान्याहूले यस्तो अभिव्यक्ति दिएका बीबीसीले जनाएको छ ।

नेतान्याहूले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने र आवश्यक परे दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थिति कायम रहने अडान दोहोर्‍याएका छन् ।

जेरुसेलममा आयोजित जेएनएस इन्टरनेसनल पोलिसी समिटमा उनले भने, “अमेरिकामा कतिपय मानिस भन्छन कि राष्ट्रपति ट्रम्पले म जे भन्छु, त्यही गर्नुहुन्छ । इजरायलमा कतिपय मानिस सोच्छन कि ट्रम्पले जे चाहनुहुन्छ, म त्यही गर्छु । तर, यी दुवै कुरा सत्य होइनन् ।”

उनले थपे, “हामी स्वतन्त्र र गौरवशाली देशका नेता हौँ । कहिलेकाहीँ हाम्रा विचार फरक हुन सक्छन् । हामी आफ्ना राष्ट्रिय हितका निम्ति दृढ रहन्छौँ । म इजरायलको सुरक्षा र हितका लागि उभिन्छु ।”

नेतान्याहूले अगाडि भने, “धेरैजसो अवस्थामा हाम्रो सोच मिल्छ, तर सधैँ त्यस्तो हुँदैन । हामी एकार्काको सार्वभौमसत्ता, नेतृत्व र आफ्ना जनताप्रतिको जिम्मेवारीको सम्मान गर्छौं ।”

केही दिनअघि ट्रम्पले लेबनानमा इजरायलको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाउँदै अत्यधिक आक्रमण उचित नहुने बताएका थिए । उनले भनेका थिए, “जब तपाईं केही व्यक्तिहरूलाई लक्षित गरिरहनुभएको हुन्छ, त्यसनिम्ति पूरै क्षेत्र ध्वस्त पार्नु बुद्धिमानी होइन । त्यहाँ बस्ने सबै मानिस हिज्बुल्लाह होइनन् ।”

ट्रम्पले इजरायललाई लेबनानको परिस्थितिमा थप जिम्मेवारीपूर्वक व्यवहार गर्न सुझाव दिएका थिए । उनले लेबनानको विगतको बौद्धिक र आर्थिक अवस्थाको चर्चा गर्दै त्यहाँको वर्तमान अवस्थाप्रति दुःख व्यक्त गरेका थिए ।

त्यसपछि उपराष्ट्रपति भान्सले पनि इजरायली नेतालाई अमेरिकामाथि सार्वजनिक रूपमा आलोचना नगर्न चेतावनी दिएका थिए । उनले इजरायलको सुरक्षामा अमेरिकी सैन्य सहयोगको ठूलो भूमिका रहेको उल्लेख गरेका थिए । अमेरिकी करदाताले यसको भारी लागत वहन गरेको उनले बताएका थिए ।

अमेरिका–इरान सम्झौताप्रति इजरायली सरकारभित्र पनि असन्तुष्टि देखिएको छ । केही मन्त्रीले उक्त सम्झौताको आलोचना गरेका छन् । नेतान्याहूले पनि इरानविरुद्ध कठोर रणनीति कायम राख्ने संकेत दिएका छन् ।

#अमेरिका

#इजरायल

#डोनाल्ड ट्रम्प

#बेन्जामिन नेतान्याहू

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)