महासंघले ३–३ महिनामा नीतिगत बहस चलाउन लागेको छ, त्यो बजेटपछि सुरु हुन्छः श्रेष्ठ
corporatenepal.com · Fri May 29 09:32:19 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारी नीतिकै कारण व्यवसायमा अनेकौं समस्या आउने गरेको बताएका छन् । नेपाल रत्न तथा आभुषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाइ तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बिहीबार उनले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट हेर्दा चम्किलो देखिए पनि भित्र चुनौती नै चुनौतीले भरिएको बताए ।
‘कुन बेला कुन व्यवसायमा चुनौती आउँछ थाहा नहुने रहेछ,’ विगतमा उत्कर्षमा पुगेको कार्पेट, गार्मेन्ट, पस्मिना जस्ता व्यवसाय खस्किएको उदाहरण दिँदै श्रेष्ठले भने, ‘समस्या सरकारी नीतिले नै ल्याउने गरेको छ ।’ यो व्यवसायले झेलिरहेका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको जानकारी दिँदै उनले बजेटका लागि दिएको सुझावमा हिरा तथा बहुमूल्य पत्थरमा गत वर्षको बजेटमार्फत सुरु गरिएको मूल्य अभिवृद्धिकर हटाउने विषय समेटिएको बताए ।
Advertisement
अध्यक्ष श्रेष्ठले सुनमा लाग्ने बिलासिता कर पनि शून्य दशमलव ५० प्रतिशत मात्र कायम गर्न महासंघले सुझाएको बताए । महासंघले उद्योग व्यवसायका क्षेत्रगत मुद्दा र चासोका विषय उजागर गरी पैरवी गर्न वस्तुगत संघहरुसँग छुट्टाछुट्टै छलफल चलाउने उनले बताए । श्रेष्ठले महासंघले ३–३ महिनामा नीतिगत वहस चलाउन लागेको र त्यो बजेटपछि सुरु हुने भनाइ छ । उनले नेपालका बहुमूल्य पत्थर उपयोग गर्ने विषयमा सोच्न रत्न पत्थर व्यवसायीलाई सुझाए ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको व्यवसाय समस्यै समस्याले जेलिएको र बढी जोखिमपूर्ण कारोबार भएको बताए । सुनचाँदी र आभुषण व्यवसायीले सरकारी नीतिका कारण चाहेर पनि सही किसिमले काम गर्न नसक्ने अवस्था रहेको उनले बताए ।
महासंघका अर्का उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पनि हिरा र बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर हटाउनुपर्ने र बिलासिता कर तथ्यांक राख्ने प्रयोजनका लागि मात्र न्यूनतम दरमा लगाउनुपर्ने बताए ।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपाली ग्राहक हिरा जडित गरगहना किन्न बाहिर नजाने वातावरण बनाउन हिरा र बहुमूल्य पत्थरमा लाग्ने मूल्य अभिवृद्धिकर हटाएर सुनको बिलासिता कर १ प्रतिशत गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष तथा आयोजक संघकी निवर्तमान अध्यक्ष ज्योत्सना श्रेष्ठले मूल्य अभिवृद्धिकर नहटाए हिरा र रत्न पत्थरको व्यवसाय धराशयी हुने बताइन् ।
महासंघका कोषाध्यक्ष तथा संघका पूर्वअध्यक्ष मनिषलाल प्रधानले सुनचाँदी र आभुषणको क्षेत्रले असाध्यै धेरै सम्भावना बोकेको भए पनि सरकारी बेवास्ताको शिकार बनेको बताए । उच्च मूल्य, न्यून ढुवानी खर्च र ब्रान्ड स्थापित भइसकेको हुँदा यस क्षेत्रबाट अर्थतन्त्रले ठूलो लाभ लिन सक्ने सम्भावना उनले औंल्याए ।
चार लाख परिवार आश्रित रहेको गरगहना क्षेत्र अपर्याप्त कच्चा पदार्थ, बाहिरबाट किन्दा बिल नपाउने र बिल नहुँदा समस्यामा परिने, खुला सिमानाबाट हुने चोरी पैठारी जस्ता समस्याबाट आक्रान्त रहेको श्रेष्ठको भनाइ छ । व्यवसायीको वासलातको आधारमा सुन देऊ भन्दा पनि नपाएको उनले गुनासो गरे ।
प्रधानले बिल बनाउनका लागि परिचयपत्र माग्दा ग्राहक भाग्ने अवस्था रहेको भन्दै सुनचाँदी र गरगहना खरिदमा क्युआरबाट भुक्तानी गर्न मिल्ने सीमा १० लाख रुपैयाँ पु¥याउन माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
उद्योग वाणिज्य महासंघ
काठमाडौँ