भ्याटमा बहुदरबाट पछि हटे अर्थमन्त्री वाग्ले
onlinekhabar.com · Fri May 29 09:46:27 GMT 2026

१५ जेठ, काठमाडौं । दुई दरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने तयारीबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पछि हटेका छन् । कर विज्ञहरूले बहुदरको भ्याटमा जानु उल्टो बाटो हुने भनेर गरेको विरोध तथा तयारी नपुग्ने भन्दै कर प्रशासनले असमर्थता देखाएपछि अन्तिम समयमा डा. वाग्ले भ्याटमा बहुदर लगाउनबाट पछि हटेको मन्त्रालय स्रोतले जानकारी दियो ।
तर, मन्त्री वाग्ले भ्याट छुट दिएका वस्तुहरूको सूचीमा भने व्यापक कटौती गरेको स्रोतले बतायो । यसअघि भ्याट छुटको सूचीमा रहेको बिजुलीमा समेत कर लगाउने निर्णय भएको अर्थ स्रोतको भनाइ छ ।
‘भ्याटमा दर्ता नहुँदा हाइड्रोपावरहरूले भ्याट रिफन्ड लिन सकिरहेका छैनन्, त्यसले गर्दा उपभोक्तामा धेरै मार नपरीकन सरकारमा स्रोत बढ्ने एउटा राम्रो माध्यम भएकाले विद्युतमा भ्याट लगाइएको हो,’ अर्थ मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।
सरकारले निजी शिक्षा र निजी स्वास्थ्यमा समेत भ्याट लगाउने तयारी गरेको थियो । तर, यी क्षेत्रमा भ्याट नलगाउने निर्णयमा वाग्ले पुगेको स्रोत बताउँछन् । बरु, निजी क्षेत्रको शिक्षा तथा स्वास्थ्यमा शिक्षा सेवा शुल्क तथा स्वास्थ्य सेवा शुल्क पुन: लाग्नसक्ने स्रोतको भनाइ छ ।
त्यस्तै, मन्त्री वाग्लेले आगामी आर्थिक वर्ष देखि मुल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता भएका करदाताका लागि स्रोतमा करकट्टी (टीडीएस) दरलाई बढाएर २.५ प्रतिशत पुर्याएको स्रोतले जानकारी दिएको छ । अहिले यस्तो दर १.५ प्रतिशत छ ।
यो पनि पढ्नुहोस
भ्याटमा दोहोरो दरको गृहकार्यमा सरकार, विज्ञ भन्छन्– उल्टो बाटो
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)