काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ : कस्तो अवस्थामा सर्न सक्छ मानिसमा ?
baahrakhari.com · Mon Jun 22 05:50:19 GMT 2026

काठमाडौं । बर्डफ्लु संक्रमण तीव्र रूपमा फैलँदै गएको छ । पूर्वी नेपालको झापाबाट सुरु भएको बर्डफ्लु चितवन हुँदै यति बेला काठमाडौं उपत्यकामा फैलिएको सरकारी अधिकारीले बताएका छन् ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा बर्डफ्लुको संक्रमण तीव्र बनेको छ । काठमाडौंबाहिर काभ्रेमा पनि संक्रमण बढिरहेको छ । काठमाडौं उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेको पशु सेवा विभागका निर्देशक डा. उमेश दाहालले बताए ।
काठमाडौंका चन्द्रागिरि, तारकेश्वर र कीर्तिपुर नगरपालिका, ललितपुरका गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा धेरै संक्रमण देखिएको उनले जानकारी दिए । “खुला स्थान तथा चराचुरुंगी धेरै हुने ठाउँमा संक्रमणको जोखिम देखियो, साथै अव्यवस्थित फार्ममा बढी संक्रमण पाइएको छ,” दाहालले भने ।
बर्डफ्लुको प्रभावकारी उपचार र खोप नभएको उनले बताए । “त्यसैले फ्लु रोक्ने प्रभावकारी उपाय भनेकै नष्ट गर्नु हो,” उनले भने ।
विभागले रोग पुष्टि भएका जिल्लाका फार्मका कुखुरा नष्ट गरेको थियो । किसानले पालेका मध्ये लेयर्स र स्थानीय जातका कुखुरा बढी मात्रामा बर्डफ्लु प्रभावित भएको विभागले जनाएको छ ।
कोसी प्रदेशमा संक्रमण हाल नियन्त्रण हुँदै छ । तर, काठमाडौं उपत्यकामा प्रभावित फार्मको संख्या बढ्दै गएकाले जोखिम कायम रहेको विभागले जनाएको छ ।
बर्डफ्लु संक्रमण फैलनुमा फार्म व्यवस्थापन र जैविक सुरक्षासँग सम्बन्धित कमजोरी मुख्य कारण भएको सरकारी अधिकारी औँल्याउँछन् ।
फार्म वरपर जंगली चराचुरुंगी बस्ने ठूला रुख हुनु, सिमसार क्षेत्रनजिक पोल्ट्री फार्म सञ्चालन गरिनु, जैविक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नहुनु, फार्ममा बाहिरी मानिस तथा सवारीसाधनको अनियन्त्रित प्रवेशजस्ता कारणले संक्रमण फैलन सहयोग गरेको पाइएको विभागले जनाएको छ ।
यस्तै, अन्डाका क्रेट उचित सफा नगरी पुनः प्रयोग गर्नु, जीवित पन्छी तथा मासु व्यवस्थापनमा एकै जनशक्ति हुनु र सरसफाइ तथा सुरक्षा उपायमा लापरबाही गरिनु पनि जोखिमका कारण बनेका छन् ।
काठमाडौं उपत्यकाबाहिर देखिएको संक्रमण नियन्त्रण गर्न विभागलाई करिब एक महिना लागेको थियो ।
चिडियाखानामा जेठ ३० गते मरेको थियो काग
गएको जेठ ३० गते ललितपुरको जावलाखेलस्थित सदर चिडियाघरमा काग मरेको थियो । त्यसमा परीक्षणका क्रममा असार ४ गते बर्डफ्लु संक्रमण पुष्टि भएको चिडियाखानाका प्रवक्ता रचना शाहीले जानकारी दिइन्
चिडियाखानामा विशेष गरी लाटोकोसेरो, निलबिरालो, जंगली बिरालो, गिद्ध, सावरी चरा र चरीबाघ बर्डफ्लुका कारण मरेको पुष्टि भएको छ । अरू पन्छीमा संक्रमण देखिएको छैन । बर्डफ्लु पुष्टि नभएको पन्छी नष्ट नगरिने प्रवक्ता शाहीले बताइन् ।
बर्डफ्लुबाट जोगिन नियमित रूपमा परामर्श र चुन छर्कने गरिरहेको र पशु स्वास्थ्य विभागको ‘प्रोटोकल’ अपनाइएको उनले जानकारी दिइन् ।
मानिसमा पनि हुनसक्छ बर्डफ्लु
पशुपन्छीबाहेक बर्डफ्लु नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा देखिएको थियो । त्यति बेला २१ वर्षीय एक युवकको मृत्यु भएको थियो ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन पशुपन्छीको सम्पर्कमा रहने कृषक, ढुवानीकर्ता, बेचबिखनमा संलग्न व्यक्तिहरू संक्रमणको उच्च जोखिममा हुने हुँदा सतर्क रहनुपर्ने बताउँछन् ।
बर्डफ्लु संक्रमण फैलिएपछि मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, निमोनिया र श्वासप्रश्वासमा कठिनाइ भई ज्यानै जाने लक्षण देखिन्छ । आँखामा संक्रमण हुने, भाइरल निमोनिया तथा जीवन खतरामा पार्ने किसिमका कठिनाइ देखिने चिकित्सकले बताएका छन् ।
बर्डफ्लुमध्ये सबैभन्दा खतरनाक भाइरस एच ५ एन १ लाई मानिन्छ । यो भाइरसले चरा तथा मानिसमा संक्रमण फैलाउँछ । इन्फ्लुएन्जा भाइरसको तुलनामा यसले आफ्नो संख्या तीव्र रूपमा बढाउन तथा वंशाणुमा परिवर्तन गरेर अरू प्रजातिका प्राणीमा पनि संक्रमण गर्छ ।
बर्डफ्लु कस्तो अवस्थामा मानिसमा सर्न सक्छ ?
बर्डफ्लु विशेषज्ञ प्रा. डा. होमबहादुर बस्नेतका अनुसार, यो संक्रमण मान्छेमा सर्नु एकदम खतरानक अवस्था हो । पन्छीबाट पन्छीमा सहजै यो संक्रमण फैलिन्छ । तर, जनावर वा मानिसमा सहजै सर्दैन । बर्डफ्लुको जेनेटिक मेटरियल अरू ‘प्रोपगेट’ हुन सके मात्र मानिसमा सर्छ ।
यसको मतलब मानिसमा संक्रमण फैलने सम्भावना हुँदै हँुदैन भन्ने होइन । सयमा एकभन्दा थोरै ०.०१ प्रतिशतमा बर्डफ्लु प्रोपगेट हुनसक्छ । र, त्यसमा गएर संख्या बढाउन सके यसले रोगले लक्षण देखाउने हो ।
यो म्युटेसन (रूप परिवर्तन) हुने टाइपको भाइरस हो । यो भाइरस हावाका माध्यमबाट सर्ने गर्छ । तर, तापक्रम धेरै उच्च भएमा हावामै मर्छ । तापक्रम ठिक्क खालको अर्थात् धेरै बढी र ज्यादै न्यून पनि नभएको अवस्थामा भाइरस हावामा केही समय जीवित रहन सक्छ र संक्रमण फैलाउँछ ।
पन्छीहरू नै यो भाइरसका निम्ति मुख्य माध्यम हुन् । एकबाट अर्को ठाउँमा सजिलै उडेर जान सक्ने पन्छीमा यो संक्रमण एकदमै छिटो फैलन्छ । खासगरी जंगली चरा, त्यसमा पनि सिमसारतिर बस्ने चरा यो भाइरसका सबै समूहका मुख्य स्रोत हुन् ।
सामान्यतः जंगली चरामा बलियो प्रतिरक्षा प्रणाली हुने भएकाले तिनीहरूको आन्द्रा, स्राव, सिँगान र सुलीमा यो रोगको भाइरस सुषुप्त अवस्थामा रहने गरेको पाइन्छ ।
त्यस्ता चरामध्ये विशेष गरेर जंगली हाँसमा यो भाइरस प्रतिरोध गर्ने क्षमता निकै बढी हुने गरेको पाइन्छ । घरपालुवा कुखुरा तथा टर्की चराले यी भाइरस प्रतिरोध गर्न सक्दैनन् । केही वर्षअगाडि चीनमा भंगेरामा पनि बर्डफ्लु देखिएको थियो ।
कसरी अपनाउने सर्तकता ?
पन्छीसँग निकटमा रहने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छ । बिरामी वा मरेका पन्छी (कुखुरा, हाँस, परेवा, काग आदि)लाई खाली हातले छुनु हुँदैन ।
कुखुरा फार्ममा काम गर्दा अनिवार्य रूपमा पन्जा, मास्क, एप्रोन र बुट जुत्ताको प्रयोग गर्नुपर्छ । काम सकिएपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । घरपालुवा पन्छीलाई जंगली चराको सम्पर्कमा आउन दिन नहुने विभागले जनाएको छ ।
पन्छीजन्य मासु र अन्डालाई राम्ररी पकाएर मात्र खानुपर्छ । काँचो वा कम पाकेको अन्डा वा मासु खानु हुँदैन । काँचो मासु काट्न प्रयोग गरिएको चक्कु र अचानो तातो साबुनपानीले राम्ररी सफा गर्नुपर्छ ।
पशुपन्छीबाट संक्रमित हुन सक्ने सम्भावना भएकाले उमालेको दूध मात्र सेवन गर्नुपर्छ । पन्छी वा मासु छोएपछि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुनुपर्छ । चराचुरुंगी धेरै हुने स्थानमा जाँदा मास्क लगाउनुपर्ने चिकित्सक सुझाव दिन्छन् ।
#काठमाडौं उपत्यका
#बर्डफ्लु संक्रमण
#हटस्पट
#सदर चिडियाखाना
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ