भट्ट प्रकरणमा ५६ जनाको सेयर रोक्का गर्न सिआइबीको पत्र
nagariknews.nagariknetwork.com · Fri May 29 10:17:17 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले धितोपत्र सम्बन्धी कसुरको अनुसन्धानका क्रममा विभिन्न ५६ जना उच्च व्यक्तिहरूको सेयर कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्राचार गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाउँदै ब्युरोले ती व्यक्तिहरूको धितोपत्र बजारमा रहेको लगानी रोक्का राख्न आग्रह गरेको हो ।
सिआइबीले सेबोनलाई पठाएको पत्रमा ‘वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्ट समेत’ रहेको मुद्दाको अनुसन्धानका लागि आवश्यक कदमस्वरूप सेयर रोक्का गर्न भनिएको उल्लेख छ । ब्युरोले अनुसन्धान प्रभावित हुन नदिन सम्बन्धित व्यक्तिहरूको नाममा रहेको सेयर किनबेच, नामसारी वा अन्य कारोबार अस्थायी रूपमा रोक्न आग्रह गरेको स्रोतले जनाएको छ ।
प्राप्त विवरणअनुसार अनुसन्धानको घेरामा मुख्यतः बिमा, पुनर्बिमा, लघु बिमा तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा संलग्न सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा लगानी समिति सदस्यहरू परेका छन् । सिआइबीले बजारमा अस्वाभाविक चलखेल, भित्री सूचनाको प्रयोग, सेयर मूल्य प्रभावित गर्ने गतिविधि तथा संगठित लगानी संरचनामार्फत धितोपत्र बजारमा अनियमितता भएको आशंकामा अनुसन्धान अघि बढाएको बताइएको छ ।
अनुसन्धानको सूचीमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिषकुमार रहेका छन् । त्यसैगरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सदस्य सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल पनि अनुसन्धानको दायरामा परेका छन् ।
यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा लगानी समिति सदस्य ज्योति प्रकाश पाण्डे र समीर खरेलको सेयर कारोबार रोक्का गर्न पनि सिआइबीले आग्रह गरेको छ ।
त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति तथा लगानी समितिसँग सम्बन्धित विवेककुमार शाह, लक्ष्मण ज्ञावली, राजिवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा पनि अनुसन्धानको सूचीमा समावेश छन् ।
स्रोतका अनुसार पछिल्लो समय धितोपत्र बजारमा केही कम्पनीहरूको सेयर मूल्य अस्वाभाविक रूपमा बढेको, सीमित समूहबीच समन्वय गरेर कारोबार गरिएको तथा लगानीकर्तालाई भ्रममा पार्ने गतिविधि भएको विषयमा सेबोनले प्रारम्भिक अध्ययन थालेको थियो । सोही आधारमा बोर्डले केही विषयमा प्रहरीको सहयोग मागेपछि सिआइबी सक्रिय भएको बताइएको छ ।
सिआइबीले सेबानसँग सम्बन्धित व्यक्तिहरूको डिम्याट खाता, हितग्राही खाता, कारोबार इतिहास, सेयर स्वामित्वको विवरण तथा सम्बन्धित कम्पनीसँगको आबद्धतासम्बन्धी जानकारी पनि माग गरेको जनाइएको छ । अनुसन्धानमा आवश्यक परे थप व्यक्तिलाई समेत समेट्न सकिने ब्युरो स्रोतको भनाइ छ ।
धितोपत्र बजारमा नियामक निकाय र अनुसन्धान एजेन्सीको यस्तो कदमले लगानीकर्तामाझ चासो बढाएको छ । बजार विश्लेषकहरूका अनुसारभित्री कारोबार, कृत्रिम मूल्य वृद्धि वा संगठित चलखेल पुष्टि भए त्यसले नेपालको पुँजी बजारको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउनेछ । अर्कोतर्फ, निष्पक्ष अनुसन्धानमार्फत दोषी पहिचान भए बजार सुधार र नियमन सुदृढीकरणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।
हालसम्म सिआइबी वा धितोपत्र बोर्डले औपचारिक पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । अनुसन्धान जारी रहेकाले सम्बन्धित व्यक्तिहरूमाथि थप बयान, कागजात परीक्षण र वित्तीय कारोबार विश्लेषणको काम भइरहेको जनाइएको छ ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)