ट्रम्पलाई नेतान्याहूको स्पष्ट सन्देश: ‘इजरायल अमेरिकाको इशारामा चल्दैन’
barnanmedia.com · Mon Jun 22 06:07:43 GMT 2026

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले आफ्ना राष्ट्रिय हितका आधारमा निर्णय गर्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इशारामा नचल्ने स्पष्ट पारेका छन्। ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै इजरायलको लेबनान नीतिको आलोचना गरेपछि नेतान्याहूले यस्तो प्रतिक्रिया दिएका हुन्।
जेरुसेलममा आयोजित जेएनएस इन्टरनेसनल पोलिसी समिटमा बोल्दै नेतान्याहूले इजरायल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध भए पनि दुवै देश स्वतन्त्र र सार्वभौम राष्ट्र भएकाले सबै विषयमा एउटै धारणा नहुन सक्ने बताए।
उनले भने, “कतिपयले ट्रम्पले मैले भनेको सबै मान्छन् भन्ने सोच्छन्, कतिपयले म ट्रम्पले चाहेको सबै गर्छु भन्ने ठान्छन्। तर दुवै धारणा गलत हुन्।”
नेतान्याहूले इरानलाई कुनै पनि हालतमा आणविक हतियार हासिल गर्न नदिने र आवश्यक परे दक्षिणी लेबनानमा इजरायली सैन्य उपस्थिति कायम राख्ने अडान पनि दोहोर्याए।
यसअघि ट्रम्पले लेबनानमा इजरायलको सैन्य कारबाहीप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिलाई लक्षित गर्दा पूरै क्षेत्र ध्वस्त पार्नु उचित नहुने बताएका थिए। उपराष्ट्रपति जेडी भान्सले पनि इजरायललाई अमेरिकाविरुद्ध सार्वजनिक टिप्पणी गर्दा सावधानी अपनाउन सुझाव दिएका थिए।
अमेरिका–इरान सम्भावित सम्झौताप्रति इजरायली सरकारभित्र पनि असन्तुष्टि देखिएको छ। नेतान्याहूले इरानविरुद्ध कडा नीति कायम राख्ने संकेत दिँदै इजरायलको सुरक्षा र राष्ट्रिय हितमा कुनै सम्झौता नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प