विश्वकपको ‘फ्ल्यासब्याक’ : ‘ब्ल्याक एन्ड ह्वाइट’को उत्साहदेखि स्मार्ट स्क्रिनको मज्जासम्म
shilapatra.com · Mon Jun 22 06:19:00 GMT 2026

अहिले फुटबलको महाकुम्भ विश्वकपको माहौल छ । चिया पसल, चौतारा, घरदेखि कार्यालयसम्म विश्वकपकै चर्चा सुनिन्छ । विश्वकप फुटबलले विश्वभरका खेलप्रेमीलाई जस्तै मलाई पनि बाल्यकालका थुप्रै सम्झनाहरूमा पुर्याएको छ । जुम्लाको दुर्गम गाउँमा ‘ब्ल्याक एन्ड ह्वाइट’ टेलिभिजनमा गाउँभरिका मानिसहरू जम्मा भएर हेरेको विश्वकप र आज परिवारसँग ६५ इन्चको स्मार्ट टीभी तथा प्रोजेक्टरमा हेर्दाको अनुभवबीचको फरक सम्झँदा समयको अद्भूत यात्रा महसुस हुन्छ ।
‘ब्ल्याक एन्ड ह्वाइट टीभी’मा देखिएको पहिलो विश्वकप
२०५५ साल (सन् १९९८) तिरको कुरा हो । म करिब आठ वर्षको थिएँ । त्योबेला जुम्लामा टेलिभिजन भएका घरहरू निकै कम थिए । मेरा बा पुरीचन्द देवकोटाले तरकारी लगाउने बारीमा ठूलो डिस एन्टेना जडान गर्न लगाउनुभयो । गाउँका अंकल र दाइहरू दुई दिनसम्म मेहनत गरेर ठूलो कालो डिस छाता जोड्न सफल हुनुभयो । त्यो मेहनत खेर गएन, किनकि त्यसपछि हाम्रो घर विश्वकप हेर्ने साझा केन्द्रजस्तै बन्यो ।
घरमा १४ इन्चको ‘ब्ल्याक एन्ड ह्वाइट’ टीभी थियो । नेपाली च्यानलहरू खासै देखिँदैन्थे, अधिकांश भारतीय च्यानलहरू आउँथे । दिउँसो रामायण, महाभारत र विभिन्न सिरियलहरू हेर्ने गरिन्थ्यो भने राति खेलकुद च्यानलहरू आउँथे । खेलकुद र अन्य च्यानलका लागि डिसको दिशा फरक–फरक भएकाले दिनरात छाता घुमाउनुपर्ने अवस्था थियो ।
विश्वकप मेरा लागि केवल खेल होइन, जीवनका सुन्दर अध्यायहरू पुनः एकपटक बाँच्ने अवसर पनि हो ।
त्योबेला हामीलाई कुन देश खेल्दैछ, कुन खेलाडी प्रसिद्ध छ भन्ने धेरै थाहा थिएन । केवल फुटबल हेर्न पाइयो भने पनि हामी दङ्ग पर्थ्यौं । तर, विश्वकपको रोमाञ्च भने त्यतिबेलै हाम्रो मनमा बसिसकेको थियो । गाउँभरिका मानिसहरू एउटै कोठामा खचाखच बसेर रातभर खेल हेर्दा जुन सामूहिक आनन्द, आत्मीयता र अपनत्व महसुस हुन्थ्यो, त्यो आजको अत्याधुनिक प्रविधिले पनि सायदै दिन सक्छ । खेल मैदान टाढा थियो, तर विश्वकपले गाउँका सबैलाई एउटै भावनामा बाँधिदिएको थियो ।
बासँग हेरेको विश्वकप र छोरासँग हेर्दाको फरक
समयसँगै विश्वकप हेर्ने शैली मात्र होइन, खेललाई बुझ्ने तरिका पनि बदलिएको छ । बासँग बसेर खेल हेर्दा फुटबल भनेको केवल एउटा खेल थियो । कुन देश, कुन खेलाडी, कति गोल, कति रेकर्ड भन्ने जानकारी सीमित हुन्थ्यो । खेल हेर्ने खुसी नै सबैभन्दा ठूलो कुरा थियो ।
आज छोरासँग बसेर विश्वकप हेर्दा अवस्था फरक छ । खेल सुरु हुनुअघि नै उसले खेलाडीहरूको तथ्यांक सुनाउँछ– कसले कति विश्वकप खेलेको छ, कति गोल गरेको छ, कुन टोलीको रणनीति कस्तो छ, कसले कति कीर्तिमान बनाएको छ । प्रविधिको विकाससँगै जानकारीको पहुँच यति सहज भएको छ कि अहिलेको पुस्ताले खेललाई अझ गहिरोसँग बुझ्न पाएको छ ।
मैले १९९८, २००२ र २००६ का विश्वकपहरू ब्ल्याक एन्ड ह्वाइट टीभीमा हेरेँ । २०१० पछि मात्र रङ्गीन टीभीमा विश्वकप हेर्ने अवसर मिल्यो । आज २०२६ मा प्रोजेक्टर र स्मार्ट स्क्रिनमा खेल हेर्दा खेलको अनुभव नै अर्को स्तरको बनेको छ । तर, कहिलेकाहीँ लाग्छ– प्रविधिले दृश्यलाई स्पष्ट बनायो, तर पुराना दिनहरूको सामूहिकता र आत्मीयता भने कतै धमिलो बनाइदियो ।
फाटेको मोजाको बलदेखि फुटसलसम्म
विश्वकपसँगै बाल्यकालका खेलकुदका सम्झनाहरू पनि ताजा हुन्छन् । त्योबेला नयाँ फुटबल किन्ने अवस्था थिएन । पुराना फाटेका मोजा जम्मा गरेर बल बनाइन्थ्यो, र त्यही बलले घण्टौँ खेलिन्थ्यो ।
विद्यालयको मध्याह्न विश्राम होस् वा विद्यालय छुटेपछि साँझको समय, हाम्रो मुख्य मनोरञ्जन त्यही मोजाको बल थियो । बिदाको दिन त एक गाउँका युवाहरू अर्को गाउँसँग प्रतिस्पर्धा गर्न टिम बनाएर खेल्थे । धान काटिसकेपछि खाली भएका खेतहरू नै हाम्रो खेल मैदान बन्थे । गोल पोस्टका लागि ढुंगा राखिन्थ्यो, रेफ्री हुँदैनथ्यो, नियमहरू पनि धेरै औपचारिक थिएनन् । तर, खेलप्रतिको जोश र जित्ने चाहना भने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताभन्दा कम थिएन ।
त्यो समय जुम्लामा दसैँ–तिहारको अवसरमा मात्रै फुटबल प्रतियोगिता आयोजना हुने गर्थ्यो । अहिले पनि खेल मैदानको अभाव, व्यवस्थापनका समस्या र प्रतियोगिताका क्रममा हुने विवादका कारण नियमित खेल गतिविधि कमै छन् । तर, फुटबलप्रतिको मोह भने घटेको छैन, बरु झन् बढ्दै गएको छ ।
आज जुम्लामा फुटसल निर्माण भएका छन् । बिहान र बेलुका युवाहरू फुटसल खेलिरहेका भेटिन्छन् । हामी पनि कहिलेकाहीँ फुटसल खेल्ने गर्छौं । शहरहरूमा त टोल–टोलमा फुटसल सञ्चालनमा छन् । फुटबल र फुटसल प्रतियोगिताहरू नियमित भइरहेका छन् । समय बदलिएको छ, तर बल पछ्याउने सपना भने उस्तै छ ।
समय बदलियो, उत्साह उस्तै छ
२८ वर्षअघि गाउँका मानिसहरू एउटै टीभीअगाडि बसेर विश्वकप हेर्थे । आज प्रत्येक व्यक्तिको हातमा स्मार्टफोन छ, जहाँबाट विश्वकप प्रत्यक्ष हेर्न सकिन्छ । प्रविधि, सुविधा र जानकारीको पहुँचमा ठूलो परिवर्तन आएको छ । तर, फुटबलप्रतिको उत्साह, खेलप्रतिको प्रेम र विश्वकपले जगाउने रोमाञ्च भने उस्तै छ ।
ब्ल्याक एन्ड ह्वाइट टीभीको धमिलो पर्दादेखि आजको एचडी स्क्रिनसम्म आइपुग्दा धेरै कुरा बदलिएका छन् । डिस छाता घुमाउँदै सिग्नल खोज्ने दिनहरू बिते, फाटेका मोजाको बलले खेल्ने बालापन पनि सम्झनामा सीमित भयो । बुबासँग बसेर खेल हेर्ने दिनहरू विस्तारै समयको पानामा दर्ज भए, र आज त्यही स्थानमा छोरासँग बसेर नयाँपुस्ताको उत्साह नियालिरहेको छु ।
सायद यही नै जीवनको सबैभन्दा सुन्दर यात्रा हो– एउटा पुस्ताले देखेको सपना अर्को पुस्ताले अझ स्पष्ट रूपमा देख्नु । विश्वकप केवल खेल होइन, यो समय, सम्झना, परिवार र पुस्ताहरूलाई जोड्ने भावनात्मक सेतु पनि रहेछ । त्यसैले हरेक चार वर्षमा विश्वकप आउँदा मैदानमा खेलाडीहरू मात्र दौडिरहेका हुँदैनन्, सँगै दौडिरहेका हुन्छन् बाल्यकालका सम्झनाहरू, बुबाको साथ, गाउँको आत्मीयता र समयले छोडेका अनगिन्ती पथ चिह्नहरू । यही कारण विश्वकप मेरा लागि केवल खेल होइन, जीवनका सुन्दर अध्यायहरू पुनः एकपटक बाँच्ने अवसर पनि हो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
१२:०४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा