मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कूटनीतिक मर्यादाको दायरामा ट्रम्प : जी-७ मा इटाली र जापानमाथिका अभिव्यक्तिले के जनाउँछ ? 

onlinekhabar.com · Mon Jun 22 06:43:52 GMT 2026

८ असार, काठमाडौं । जुन १५ देखि १७ सम्म भएको जी-७ सम्मेलनले अमेरिका र अन्य सदस्यहरूबीचको मनोमालिन्य मेटाउने अपेक्षा गरिएको थियो ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य जी-७ सदस्यका राष्ट्र प्रमुखहरूको बारेमा दिएको टिप्पणीले पुन: तिक्तताको माहोल बनाएको छ ।

फ्रान्समा सम्पन्न भएको जी-७ कार्यक्रमको भिडियोमा मेलोनी र ट्रम्प एउटा सानो सोफामा सँगै बसेर गम्भीर कुराकानी गरिरहेको देखिन्थे ।

फ्रान्सको सञ्चार माध्यमले राष्ट्रपति ट्रम्पसँग गरेको संक्षिप्त अन्तर्वार्तामा भने ट्रम्पले आफूले केवल मेलोनीको इच्छा पूरा गरिदिएको सङ्केत गरेका छन्।

‘मैले उनीसँग कुरा गरेकाले सायद उनी खुसी छिन्। मैले उनीसँग कुरा गर्नै पर्ने आवश्यक थिएन,’ ‘ला७‘ टिभीले ट्रम्पलाई उद्धृत गर्दै लेखेको छ। ट्रम्प आफैँले पत्रकारलाई इटालीकी प्रधानमन्त्रीका बारेमा सोधेका थिए।

ला७ का अनुसार ट्रम्पले भनेका छन्, ‘उनले मलाई आफूसँग तस्बिर खिचाउनका लागि भिख मागेकी थिइन्। उनी मसँग तस्बिर खिच्न निकै लालायित थिइन्। मैले तस्बिर खिचाउने थिइनँ, तर मलाई उनको दया लाग्यो।’

रोयटर्सको कूटनीतिक स्रोतका अनुसार मेलोनी जी–७ मा सबैभन्दा दृढ आवाज उठाउने नेताहरूमध्ये एक थिइन्। उनले धेरै बुँदाहरूमा ट्रम्पलाई खुला रूपमा चुनौती दिएकी थिइन्। स्रोतका अनुसार, उनले युरोपको दृष्टिकोणको दृढतापूर्वक बचाउ गरेकी थिइन्। उनले ट्रम्पलाई पश्चिमा सहयोगीहरूले आफूलाई एक्लो छोडेको भन्न बन्द गर्न आग्रह गरेकी थिइन्। सहयोगीहरूले सधैँ साथ दिएको कुरा उनले जोड दिएकी थिइन्।

ट्रम्पको यस्तो बयानपछि मेलोनीले शुक्रबार यसको जवाफ फर्काएकी थिइन् । यस्तो अभिव्यक्तिबाट आफू स्तब्ध भएको भन्दै ट्रम्पका कुराहरू भ्रामक भएको भन्दै मेलोनीले प्रतिक्रिया दिएकी थिइन् ।

उनले पुराना र स्थापित सहयोगीहरूको तुलनामा पश्चिमा देशका शत्रुहरूप्रति बढी आदर देखाएको भन्दै ट्रम्पको आलोचना पनि गरिन्।

‘डोनाल्ड ट्रम्पका भनाइहरू पूर्ण रूपमा मनगढन्ते हुन्। म साँच्चै नै अचम्ममा परेकी छु। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति आफ्ना सहयोगीहरूसँग किन यस्तो व्यवहार गर्छन् भन्ने मलाई थाहा छैन। यस्तो भएको यो पहिलो पटक भने होइन,’ उनले सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा भनेकी छन्।

उनले थपिन्, ‘उनले पश्चिमा देश र संयुक्त राज्य अमेरिकाका शत्रुहरूसँग यस्तो कडा मनोवृत्ति नदेखाउनु निराशाजनक छ। बरु उनले ती शत्रु देशका नेताहरूलाई धेरै सहुलियत दिने गर्छन्। उनले एउटा कुरा याद राख्नुपर्छ: न त म न त इटालीले कहिल्यै कसैसँग भिख माग्छ।’

गत शुक्रबार ‘एनबीसी न्यूज’सँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीको आलोचना जारी राखे।

नेटवर्कले ट्रम्पलाई उद्धृत गर्दै लेखेको छ, ‘उनी मेरो ठूलो फ्यान थिइन्। तर म उनलाई आफ्नो फ्यानको रूपमा चाहन्नँ किनभने उनी होर्मुज स्ट्रेटको मामिलामा नाटोसँगै उपस्थित थिइनन्।’

इरानविरुद्धको युद्धमा सामेल हुन वा होर्मुज स्ट्रेटलाई सुरक्षित राख्न मद्दत गर्न अस्वीकार गरेर इटालीसहितका नाटो सहयोगीहरूले ट्रम्पलाई आक्रोशित बनाएका थिए।

000

ट्रम्पको यस्तो व्यवहार इटालीकी प्रधानमन्त्रीमा मात्र सीमित थिएन ।

बुधवार एक पत्रकार सम्मेलनमा जापानी पत्रकारको प्रश्नको उत्तर दिने क्रममा पनि उनले यस्तै प्रवृत्ति दोहोर्‍याए । उनले विश्वका नेताहरूमध्ये जापानी प्रधानमन्त्री सानाए ताकाइची आफ्नो ‘सबैभन्दा ठूलो फ्यान’ भएको बताएका थिए।

पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘जापानले निकै राम्रो काम गरिरहेको छ। म तपाईंलाई भन्न चाहन्छु, मैले निकै उत्कृष्ट काम गरेँ भन्ने उहाँलाई लाग्छ। तपाईंले उहाँलाई फोन गरेरै सोध्न सक्नुहुन्छ। उहाँ आफैँले पनि निकै राम्रो काम गरिरहनु भएको छ।’

होर्मुज स्ट्रेटको सुरक्षाका लागि बेलायत, जर्मनी र जापानसहित जी–७ का अन्य सदस्य राष्ट्रहरूलाई आफ्ना सशस्त्र सेना पठाउन आग्रह गर्नुभएको थियो कि भनी सोधिएको प्रश्नमा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।

तर, जी–७ का अन्य नेताहरूको तुलनामा जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले इरान युद्ध र अन्य जटिल मुद्दाहरूलाई लिएर ट्रम्पको आलोचना गर्नबाट आफूलाई टाढै राखेकी छन् ।

गत मार्चमा ह्वाइट हाउसमा भएको भेटघाटका क्रममा ताकाइचीले ट्रम्पको अत्यधिक प्रशंसा गरेकी थिइन्। त्यसबेला उनले ट्रम्पलाई ‘विश्वभर शान्ति र समृद्धि ल्याउन सक्ने एक मात्र व्यक्ति’ भएको बताएकी थिइन्।

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले इरानको परिस्थितिलाई लिएर अब संयुक्त राज्य अमेरिकालाई अन्य देशको समर्थनको खासै आवश्यकता नरहेको समेत बताए। यद्यपि अन्य देशहरूले पहिले नै कदम नचालेकोमा भने उनले निराशा व्यक्त गरे।

जापानले ट्रम्पको अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर, इटालीको सन्दर्भमा भने यसको अवस्था र परिणाममा तात्कालिक प्रभाव समेत देखिएको छ ।

ट्रम्पले भने, ‘वास्तवमा जापानले अहिले यसमा संलग्न हुन प्रस्ताव गरेको छ, तर म इमानदार भएर भन्छु, युद्धका बेला जापान संलग्न हुन इच्छुक थिएन।’

उनले थपे, ‘मैले उहाँलाई सोधेको थिएँ, ‘तपाईं यसमा थोरै संलग्न हुन चाहनुहुन्छ?’ मैले धेरै दबाब त दिइनँ, तर उनीहरूले भने, ‘होइन, हामी संलग्न हुन चाहँदैनौँ।’ कसैले पनि चाहेनन्। हामीले इजरायल र अरब देशहरूसँग मिलेर यो काम आफैँ गर्‍यौँ।’

000

जापानले ट्रम्पको अभिव्यक्तिप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर, इटालीको सन्दर्भमा भने यसको अवस्था र परिणाममा तात्कालिक प्रभाव समेत देखिएको छ ।

ट्रम्पको टिप्पणीले मेलोनी सरकार कति आक्रोशित भएको छ भन्ने कुरा इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीको निर्णयले देखाउँछ। उनले आगामी हप्ता हुने भनिएको आफ्नो अमेरिका भ्रमण रद्द गरेका छन् ।

यसबाट मियामीमा आगामी सोमबारका लागि तय गरिएको अमेरिका-इटाली व्यापार सम्मेलन पनि स्थगित गरिएको छ। इटालीयन दूतावासले यसको जानकारी दिएको हो।

ताजानीको रद्द भएको भ्रमणबारे सोधिएको प्रश्नमा अमेरिकी विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएन।

मेलोनीका सबैभन्दा नजिकका राजनीतिक सहयोगीहरूमध्ये एकजनाले ट्रम्पको कडा आलोचना गरेका छन्। उनी सामान्यतया सञ्चारमाध्यमको बहसबाट टाढै रहन्थे। उनले यसअघि सोच्नै नसकिने तीखो स्वरमा ट्रम्पमाथि प्रहार गरे।

‘ट्रम्पले जानाजानी वा आफ्नो अयोग्यताका कारण संयुक्त राज्य अमेरिका र युरोपबीचको ऐतिहासिक सम्बन्धलाई बिगार्दै छन् भन्ने कुरा स्पष्ट छैन,’ प्रधानमन्त्री कार्यालयका उपसचिव जोभानबातिस्ता फाजोलेरीले एक विज्ञप्तिमा भनेका छन्।

उनले थपे, ‘आफ्नो अनुपयुक्त आक्रोशका कारण उनले संयुक्त राज्य अमेरिकालाई सम्पूर्ण युरोपेली महाद्वीपमा अलोकप्रिय बनाएका छन्। यो कुनै सजिलो काम थिएन। यसले युरोपलाई मात्र नभएर सबैभन्दा बढी अमेरिकालाई नै नोक्सान पुर्‍याएको छ।’

000

ट्रम्पका यस्ता प्रवृत्तिहरू यसअघि पनि देखिएका छन् । र, यो भन्दा पनि उग्र रूपमा प्रस्तुत भएका छन् ।

ट्रम्पले मार्च १९ मा ह्वाइट हाउसमा भएको एक द्विपक्षीय भेटघाटका क्रममा सन् १९४१ को पर्ल हार्बर आक्रमणको प्रसंग उठाएर अप्रत्याशित कूटनीतिक तरंग पैदा गरेका थिए। अमेरिकाको सैन्य गोपनीयताको बचाउ गर्ने क्रममा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसामु गरिएको यो टिप्पणीलाई स्थापित कूटनीतिक मर्यादाविपरीतको कदम मानिएको थियो।

यो घटना ओभल अफिसभित्र तस्बिर खिच्ने र प्रश्नोत्तर गर्ने नियमित सत्रका क्रममा भएको थियो। एक जापानी पत्रकारले अमेरिकी राष्ट्रपतिलाई गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणबारे जापान लगायतका प्रमुख अन्तर्राष्ट्रिय सहयोगीहरूलाई पहिले नै किन जानकारी दिइएन भनी प्रश्न गरेका थिए।

आफ्नो प्रशासनले जानकारी गोप्य राख्नुको बचाउ गर्दै राष्ट्रपति ट्रम्पले सैन्य मिसनको रणनीतिक सफलताका लागि पूर्ण गोपनीयता सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको कुरामा जोड दिए।

ट्रम्पले भने, ‘हामीले यसबारे कसैलाई पनि भनेनौँ किनभने हामी शत्रुलाई आश्चर्यचकित (सरप्राइज) पार्न चाहन्थ्यौँ। अचानक गरिने आक्रमणका बारेमा जापानभन्दा बढी कसलाई थाहा होला र, होइन त? तपाईंहरूले मलाई पर्ल हार्बरबारे पहिले नै किन भन्नुभएन, ठीक छ नि? होइन त?’

त्यहाँ उपस्थित पत्रकार र अधिकारीहरूले केही असजिलो मान्दै खासखुस र मधुरो हाँसोसहित प्रतिक्रिया जनाइरहँदा ट्रम्पले सोही तुलनालाई थप जोड दिए।

जापानी प्रतिनिधिमण्डलतर्फ इसारा गर्दै ट्रम्पले थपे, ‘मलाई लाग्छ, हामीभन्दा तपाईंहरू अचानक गरिने आक्रमण (सरप्राइज) मा धेरै विश्वास गर्नुहुन्छ।

‘सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडिज’ ले एक विश्लेषण प्रकाशित गर्दै ट्रम्पको अप्रत्याशित अभिव्यक्ति पछाडिको मुख्य दार्शनिक तर्क प्रस्तुत गरेको छ ।

राष्ट्रपतिसँगै बसेकी प्रधानमन्त्री ताकाइचीले ऐतिहासिक प्रसंग आउनासाथ आफ्नो संयमता त कायम राखिन् । तर, उनको अनुहारको भाव स्पष्ट रूपमा बदलियो। उनको ओठको मधुरो मुस्कान तुरुन्तै हरायो । आँखाहरू केही बेरका लागि ठूला भए र आफ्नो काखमा हात बाँधेरै उनले एक लामो, गहिरो सास लिइन्। ताकाइचीले त्यस टिप्पणीमाथि प्रत्यक्ष रूपमा कुनै प्रतिक्रिया नजनाई मौन बस्न नै उचित ठानिन्।

पछि ट्रम्पले वर्तमान भू–राजनीतिक समन्वयको प्रसंगतर्फ फर्कँदै वातावरणलाई केही सहज बनाउने प्रयास गरे। उनले थपे, ‘हरेक कुरामा जापानसँग हाम्रो ठूलो समर्थन र सम्बन्ध रहेको छ।’

फेब्रुअरी २८, २०२५ मा ओभल अफिसभित्र ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीचको चर्काचर्की पनि उतिकै उल्लेखनीय छ । दुई नेताहरूबीच ‘युक्रेन–अमेरिका खनिज स्रोत सम्झौता’ (मिनरल रिसोर्स अग्रीमेन्ट) मा हस्ताक्षर गर्न यो बैठक आयोजना गरिएको थियो ।

तर, लाइभ टेलिभिजन ब्रोडकास्ट भइरहेकै बेला दुई नेताबीच भएको भनाभन हुन पुग्यो । ओभल अफिसको सो भनाभनले सम्बन्धमा तितोपन ल्यायो । एक राष्ट्र प्रमुखले अर्को देशलाई ‘स्ल्याप डाउन’ गरेको दृश्य अपूर्व देखिएको थियो ।

यसपछि तय गरिएको खनिज सम्झौता र संयुक्त पत्रकार सम्मेलन अचानक रद्द भयो। अमेरिकी अधिकारीहरूले जेलेन्स्कीलाई पूर्वनिर्धारित दिवाभोज अघि नै ह्वाइट हाउसको परिसर छोड्न आग्रह गरे।

000

‘सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेसनल स्टडिज’ ले एक विश्लेषण प्रकाशित गर्दै ट्रम्पको अप्रत्याशित अभिव्यक्ति पछाडिको मुख्य दार्शनिक तर्क प्रस्तुत गरेको छ । उक्त विश्लेषण अनुसार, अमेरिकाको अप्रत्याशित कदमले अन्य देशहरूले अमेरिकाको जाँच गर्ने र आफूअनुकूल फाइदा उठाउने सम्भावना घटाउँछ।

‘यदि संयुक्त राज्य अमेरिकाको व्यवहारलाई सहजै अनुमान गर्न सकिने बनाइयो भने अन्य देशहरूले अमेरिकाको फाइदा मात्र उठाइरहनेछन्। स्पष्ट सीमा र ‘रेड लाइन’ तोक्दा प्रतिद्वन्द्वी र सहयोगी दुवैले त्यसको अन्तिम बिन्दुसम्म आएर अमेरिकाको परीक्षा लिने छुट पाउँछन् । तर ट्रम्पको दिमागमा यसको एउटा वैकल्पिक उपाय छ । यदि संयुक्त राज्य अमेरिकाले शक्तिशाली रूपमा र समय–समयमा अप्रत्याशित तरिकाले कदम चाल्यो भने अन्य देशहरू आफैँ पछि हट्छन्,’ उक्त लेखमा उल्लेख गरिएको छ ।

‘फरेन पोलिसी’ का प्रधानसम्पादक रवि अग्रवालका अनुसार, ट्रम्पले भू-राजनीतिक साझेदारीहरूलाई आक्रामक व्यावसायिक दृष्टिकोणबाट मूल्याङ्कन गर्ने गर्छन्। उनको अनुसार, यो दृष्टिकोण प्रायः स्थापित मूल्य-मान्यता, कूटनीतिक गठबन्धन र सन्धिहरूको मूल्यमा हुने गर्छ

उनी लेख्छन्, ‘डोनाल्ड ट्रम्पलाई सामान्यतया ‘लेनदेनवादी’ (ट्रान्ज्याक्सनल) व्यक्तिका रूपमा वर्णन गरिन्छ । तर, अमेरिकी नव-निर्वाचित राष्ट्रपतिलाई वास्तवमा परिभाषित गर्ने कुरा उनको निर्लज्ज अवसरवाद हो । ट्रम्पका लागि हरेक लेनदेन ‘जिरो-सम’ जस्तै हो । जहाँ एउटा स्पष्ट विजेता र अर्को पराजित हुन्छ।’

अन्तर्राष्ट्रिय मामिलाका जानकार रोबेर्ट ब्ल्याकविलका अनुसार, भने जापानी प्रधानमन्त्रीसामु पर्ल हार्बरको प्रसंग उठाउनु वा युक्रेनसँग सार्वजनिक रूपमै ‘धन्यवाद’ को माग गर्नु जस्ता टकरावपूर्ण व्यवहारले अमेरिकाको अन्तर्राष्ट्रिय रक्षा प्रतिबद्धतालाई गम्भीर रूपमा कमजोर बनाउँछ।

उनले सीओफआरमा लेखेका छन्, ‘अमेरिकी सन्धिका प्रतिबद्धताहरूमाथि नै प्रश्न उठाएर ट्रम्पवादले आधारभूत रूपमै अमेरिकाको ‘विस्तारित प्रतिरोध’ क्षमतालाई कमजोर बनाउँछ। यसले जापान र दक्षिण कोरिया जस्ता देशहरूमा आफ्नै आणविक हतियार विकास गर्ने कि नगर्ने भन्ने नयाँ बहसलाई समेत ब्युँताइदिएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)