कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते
nepalnews.com · Mon Jun 22 07:35:14 GMT 2026
दोहा। कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।
कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो।
उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा परिचित छ। मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको र आपत्कालीन उद्धार टोली परिचालन गरिएको जनाएको छ।
यसअघि जारी अर्को विज्ञप्तिमा विस्फोटपछि सार्वजनिक सुरक्षामा असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य जोखिम नदेखिएको उल्लेख गरिएको थियो। रास लाफान क्षेत्र हालैको युद्धका क्रममा इरानको निशानामा परेको थियो र त्यसपछि केही सातासम्म बन्द रहेको थियो।
कतारी अधिकारीहरूका अनुसार बरजान ग्यास प्रशोधन केन्द्रमा पुनः सञ्चालनको प्रयास भइरहेका बेला उक्त विस्फोट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)