इरान-अमेरिका वार्तामा प्रारम्भिक सहमति, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने रोडम्याप तय
aarthiknews.com

बर्गेनस्टक (स्विट्जरल्यान्ड) । मध्यपूर्वमा जारी तनाव र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको उच्चस्तरीय वार्ता सोमबार सम्पन्न भएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्ताले दुवै देशलाई ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने साझा रोडम्यापमा सहमत गराएको छ।
वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समितिले अन्तिम राजनीतिक समझदारीका लागि कार्ययोजना तयार गर्नेछ। बाँकी प्राविधिक तथा कार्यान्वयनसम्बन्धी विषयमा यसै साताभित्र बर्गेनस्टकमै थप वार्ता हुने जनाइएको छ।
वार्तामा क्षेत्रीय सुरक्षासम्बन्धी दुई महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भएको छ। पहिलो, लेबनानमा पुनः सैन्य तनाव बढ्न नदिन अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ता मुलुकहरूको सहभागितामा विशेष द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गरिनेछ। उक्त संयन्त्रले सम्भावित सैन्य गतिविधि, सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने तनाव तथा सुरक्षा घटनाको निगरानी र समन्वय गर्नेछ।
दोस्रो, विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटी हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न दुवै पक्षले प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्। सम्भावित गलत बुझाइ वा आकस्मिक घटनाका कारण तनाव बढ्न नदिन ‘विशेष सञ्चार लाइन’ सञ्चालनमा ल्याइनेछ। यो व्यवस्था प्रारम्भिक समझदारीपत्रमा उल्लेख गरिएको ६० दिने अवधिभर लागू रहने बताइएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तालाई शान्ति प्रक्रियाको महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै उनले तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी केही प्रतिबन्ध हटाइएको, रोक्का राखिएका केही सम्पत्ति फुकुवा गरिएको तथा पुनर्निर्माण र विकास कार्यक्रम सुरु गर्ने प्रक्रिया अघि बढेको दाबी गरेका छन्।
तर पाकिस्तान र कतारले जारी गरेको संयुक्त विज्ञप्तिमा इरानी सम्पत्ति फुकुवा वा प्रतिबन्ध हटाइएका विषयमा कुनै स्पष्ट उल्लेख गरिएको छैन। अराघचीको दाबीबारे अमेरिकी प्रशासनले पनि औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
यसअघि भएको प्रारम्भिक समझदारीपत्रमा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः अन्त्य गर्ने तथा रोक्का राखिएका कोष र सम्पत्तिको उपयोगका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको उल्लेख गरिएको थियो। यद्यपि त्यसको कार्यान्वयनबारे थप सहमति हुन बाँकी रहेको जनाइएको छ।
वार्ताको सफल प्रारम्भसँगै पाकिस्तान र कतारले मध्यस्थकर्ताको रूपमा महत्वपूर्ण कूटनीतिक भूमिका निर्वाह गरेका छन्। संयुक्त विज्ञप्तिमा दुवै देशले अन्तिम सम्झौतासम्म वार्तालाई सकारात्मक, रचनात्मक र परिणाममुखी ढंगले अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मध्यपूर्वमा पछिल्ला महिनाहरूमा बढेको तनाव, हर्मुज जलघाँटीमा देखिएको अस्थिरता तथा लेबनान केन्द्रित सुरक्षा चुनौतीका बीच भएको यो वार्तालाई क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यद्यपि अन्तिम सम्झौतासम्म पुग्न अझै धेरै प्राविधिक, राजनीतिक र सुरक्षा सम्बन्धी विषयमा सहमति जुटाउनुपर्ने देखिएको छ। -रासस/एएफपी
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)