मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

ratopati.com · Mon Jun 22 07:56:42 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सांसदहरूले बजेटसम्बन्धी ‘रातो किताब’ ढिलो प्राप्त भएकाले अध्ययनका लागि पर्याप्त समय मागेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ।

सांसदहरूले आज मात्रै रातो किताब प्राप्त गरेको र त्यसको अध्ययन गर्न समय नपुगेको गुनासो गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले बैठक सार्न सभामुख तुलाराम घर्ती मगरलाई अनुरोध गरेका थिए। सोही अनुरोधका आधारमा प्रदेश सभा सचिवालयले बैठक स्थगनसम्बन्धी सूचना जारी गरेको हो।

प्रदेश सभा सचिवालयका अनुसार लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोध तथा सभामुखको निर्देशनअनुसार स्थगित गरिएको बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ बजे बस्नेछ।

मुख्यमन्त्री आचार्यले रातोपाटीसँग कुरा गर्दै बैठक स्थगनको कारण सांसदहरूलाई रातो किताब अध्ययन गर्न पर्याप्त समय उपलब्ध गराउनु रहेको बताए। “अन्य कुनै कारण होइन, सांसदहरूले रातो किताब ढिलो प्राप्त भएको र अध्ययन गर्न नपाएको बताएपछि आजको बैठक सार्न अनुरोध गरिएको हो,” उनले भने।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।

प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा बैठक स्थगन तथा नयाँ मिति र समयबारे जानकारी गराइएको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेपछि त्यसमाथिको छलफल चलिरहेका बेला बैठक एक दिनका लागि स्थगित गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)