मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाढीले माथिल्लो तामाकोसी परीक्षण प्रभावित नहुने

ekantipur.com · Fri Jun 25 00:56:02 GMT 2021

काठमाडौँ — माथिल्लो तामाकोसीको सहायक नदी रोङ्सी खोला थुनिएपछि तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगाउन खाली गरिएको माथिल्लो तामाकोसी आयोजनाको जलाशय आज (शुक्रबार) सम्म भरिने भएको छ । बाढीका कारण जलाशय खाली गरिए पनि यसको परीक्षण र उत्पादन तालिकामा असर नगर्ने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

असार पहिलो साताको वर्षाले चीनतर्फ पर्ने तामाकोसीको सहायक नदी पहिरोले थुनिएपछि तामाकोसीको जलाशय खाली गरिएको हो । चीनतर्फ थुनिएको नदी अहिले सुचारु भइसकेको छ । जलाशय भरिएलगत्तै सुरुङमा पानी भरेर पुनः परीक्षण सुरु गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए । ४ सय ५६ मेगावाटको यो आयोजनाको सुरुङ परीक्षण सकिएलगत्तै पावरहाउसको परीक्षण गरिने छ । ‘आयोजनाले परीक्षण उत्पादन गर्ने मिति औपचारिक रूपमा तोकिएको छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘परीक्षणमा कुनै समस्या नआए जुनसुकै बेला पनि परीक्षण उत्पादन सुरु हुन्छ ।’ यसअघि सुरुङमा पानी भरेर गरिएको परीक्षणका क्रममा पेनस्टक पाइपको बिर्कोमा चुहावट देखिएपछि परीक्षण स्थगन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)