मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यामलको विश्वकप गोलमा मेस्सीको हुबहु संयोग

hamrakura.com · Mon Jun 22 00:00:00 GMT 2026

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यामलले जारी फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो विश्वकप यात्राको सानदार सुरुआत गरेका छन्। यो गोलले स्पेनलाई ४–० को जित मात्र दिलाएन, फुटबल इतिहासमा उनका आदर्श खेलाडी लियोनल मेस्सीसँग जोडिएको दुई दशक पुरानो एउटा असाधारण संयोगलाई पनि मैदानमा हुबहु दोहोर्‍याइदिएको छ।

बार्सिलोनाको एकेडेमीबाटै विश्व फुटबलमा उदाएका यामलले बाल्यकालदेखि नै मेस्सीलाई आफ्नो प्रेरणाको स्रोत मान्दै आएकोमा अहिले विश्वकपको ठुलो मञ्चमा उनीसँगै जोडिएको ऐतिहासिक समानता सिर्जना गरेर सबैलाई चकित पारेका छन्।

यो अद्भुत संयोगको मुख्य कडी दुवै खेलाडीको उमेर, जर्सी र गोल गर्ने शैलीसँग जोडिएको छ। यामलले साउदी अरेबियाविरुद्ध आफ्नो विश्वकपको पहिलो गोल गर्दा उनको उमेर १८ वर्ष ११ महिना थियो, जुन उमेरमा मेस्सीले सन् २००६ को विश्वकपमा सर्बिया र मोन्टेनेग्रोविरुद्ध आफ्नो पहिलो विश्वकप गोल गरेका थिए।

अनौठो कुरा त के छ भने दुवै खेलाडीले उक्त ऐतिहासिक गोल गर्दा राष्ट्रिय टोलीमा १९ नम्बरको जर्सी लगाएका थिए र स्वभावैले बायाँ खुट्टाका खेलाडी भए पनि दुवैले पहिलो विश्वकप गोल भने आफ्नो दायाँ खुट्टाको प्रयोग गरेर गरेका थिए। दुई फरक पुस्ताका विङ्गरबिच मैदानमा देखिएको यो दुर्लभ समानताले यतिबेला विश्वभरका फुटबल समर्थकहरूमाझ निकै ठुलो कौतुहलता र चर्चा जगाएको छ।

मेस्सीसँगको यो अभूतपूर्व समानता कायम राख्दै यामलले उमेरको एउटा कीर्तिमानमा भने आफ्ना गुरुलाई उछिन्न सफल भएका छन्। विश्वकपमा पहिलो गोल गर्दा यामल मेस्सीभन्दा उमेरका हिसाबले १४ दिन कान्छा थिए, जसले उनलाई विश्वकप इतिहासमै गोल गर्ने आठौँ सबैभन्दा कम उमेरको खेलाडीको सूचीमा पुर्‍याएको छ।

चोटबाट भर्खरै मैदान फर्किएका यी १८ वर्षीय युवा खेलाडीले प्रतियोगिताको पहिलो सुरुआती अवसरमै सनसनीपूर्ण प्रदर्शन गर्दै आफू किन विश्व फुटबलको भविष्य मानिन्छन् भन्ने प्रमाणित गरिदिएका छन्। विश्व फुटबलका महानतम खेलाडी मेस्सी र उनको पदचाप पछ्याइरहेका युवा प्रतिभा यामलको यो एउटै मोडको कथा फुटबल इतिहासकै एक अनौठो पाना बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय