मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ दिन ढिलो भित्रिएको मनसुनी प्रणाली पाँच प्रदेशमा विस्तार

hamrakura.com · Mon Jun 22 00:00:00 GMT 2026

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार कोशी प्रदेशबाट गत शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको हो।

महाशाखाका अनुसार हाल मनसुनी वायु कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भइसकेको छ। यद्यपि यो मनसुनी प्रणाली अझै पनि केही कमजोर अवस्थामै रहेकाले सुदूरपश्चिम र कर्णाली लगायत देशका बाँकी पश्चिमी क्षेत्रमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिने औसत समय भए पनि यस वर्ष भने छ दिन ढिलो गरी मात्रै मनसुन नेपाल आइपुगेको हो। मनसुनको प्रभाव क्रमशः बढ्दै गएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानहरूमा वर्षा हुने क्रम सुरु भइसकेको छ।

यसैबिच विभागले यो वर्षको मनसुन अवधिभर नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम केही बढ्ने प्रारम्भिक प्रक्षेपण गरेको छ। मौसमविद् सुदर्शन हुमागाईँका अनुसार यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा औसतभन्दा कम पानी पर्ने सम्भावना देखिएको छ। विशेष गरी कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रहरूमा यस वर्ष सरदरभन्दा कम वर्षा हुने विभागको अनुमान छ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आगामी तीन दिनको मौसम बुलेटिन नियमित रूपमा हेर्न र मौसममा आउने परिवर्तन अनुसार आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय