मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयात बढ्दा खस्कियो निर्यात, ११ महिनामा बाहिरियो १९ खर्ब

corporatenepal.com · Mon Jun 22 08:36:29 GMT 2026

काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को ११ महिनामा नेपालको वस्तु आयात १५.१६ प्रतिशतले बढेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको जेठ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले सो दरमा आयात बढेको देखाएको हो ।

Advertisement

गत आवको जेठ मसान्तसम्म १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रूपियाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवको ११ महिनामा १८ खर्ब ९४ अर्ब नौ करोड ८८ लाख रूपियाँको वस्तु आयात भएको तथ्यांकमा उल्लेख छ ।

चार महिनादेखि जारी इरान युद्धका कारण विश्वव्यापी आपूर्ति श्रृंखला प्रभावित भएको छ । त्यसले महंगी पनि बढाएको छ । त्यसले गर्दा नेपालको आयात पनि महँगो भएको देखिन्छ । यद्यपि, अहिले युद्ध साम्य हुने देखिएको छ । त्यसले भने आयात सस्तो हुने आशा गरिएको छ ।

आयातमा गत माघसम्म १३.६५ प्रतिशत, फागुनसम्म १२.५४ प्रतिशत, चैतसम्म १३.८२ प्रतिशतको वृद्धि दर थियो । गत वैशाखसम्म आयातको बृद्धि दर १४.८२ प्रतिशत थियो । जेठ मसान्तसम्म आउँदा त्यो बढेर १५ प्रतिशत माथि पुगेको हो । परिमाणका आधारमा आयात बढ्न सकेको छैन । तर, महंगीले आयातलाई भने महँगो बनाएको व्यापारीहरु बताउँछन् ।

यस्तै, निर्यात बृद्धि दर भने घटेको छ । समीक्षा अवधिमा नेपालको निर्यातको वृद्धि दर १२.२८ प्रतिशतमा खुम्चिएको छ । गत आवको ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रूपियाँको वस्तु निर्यात भएको थियो । चालु आवको ११ महिनामा दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रूपियाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

तर, निर्यात बृद्धि दर भने बिगतको महिनाको तुलनामा कम हो । गत माघसम्म वस्तु निर्यातमा ३२.१९ प्रतिशतको वृद्धि दर थियो । त्यसपछि त्यो फागुन मसान्तसम्ममा २०.८३ प्रतिशत र चैत मसान्तसम्ममा १८.४६ प्रतिशतमा समिति भयो । गत वैशाखमा थप घटेर १४.२५ प्रतिशतमा सीमित भएको थियो । जेठ मसान्तसम्म आउँदा त्यो थप घटेर १२.२८ प्रतिशतमा सीमित भएको छ ।

इरान युद्धले विश्व आपूर्ति व्यवस्था प्रभावित हुँदा नेपालको निर्यात पनि प्रभावित भएको तथ्यांकले पुष्टि गरेको छ । भारतको विभिन्न मापदण्डले नेपालबाट पछिल्ला केही साता यता निर्यात निर्यात समेत रोकिएको छ ।

समीक्षा अवधिमा मुलुकको व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ । गत आवको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रूपियाँको व्यापार घाटा थियो । चालु आवको समीक्षा अवधिमा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रूपियाँको व्यापार घाटा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय