हरमनप्रितको ऐतिहासिक २००औँ खेल
ratopati.com · Mon Jun 22 08:57:06 GMT 2026

म्यानचेस्टर । दक्षिण अफ्रिकाले महिला टी-२० विश्वकप क्रिकेटमा भारतलाई ६ विकेटले पराजित गरेको छ। आइतबार भएको खेलमा भारतले दिएको १५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले सफलतापूर्वक पछ्यायो।
यो महिला टि-२० विश्वकप इतिहासकै तेस्रो ठुलो र दक्षिण अफ्रिकाको हकमा भने विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठुलो रन चेज हो। यसअघि सन् २००९ मा इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध १६३ रनको लक्ष्य पछ्याएर पहिलो स्थानमा आफ्नो नाम सुरक्षित राखेको छ।
पराजय भोग्नु परे पनि भारतीय टोलीकी कप्तान हरमनप्रित कौरका लागि यो खेल ऐतिहासिक बन्यो। उनी पुरुष र महिला दुवै क्रिकेट इतिहासमा २०० वटा टि-२० अन्तर्राष्ट्रिय खेल खेल्ने विश्वकै पहिलो खेलाडी बनेकी छिन्। यस सूचीमा न्युजिल्यान्डकी सुजी बेट्स १८४ खेलसहित दोस्रो स्थानमा छिन् भने पुरुषतर्फ आयरल्यान्डका पल स्टर्लिङ १६३ खेलका साथ पहिलो र भारतका रोहित शर्मा १५९ खेलका साथ दोस्रो स्थानमा छन्।
कप्तानका रूपमा पनि हरमनप्रितको यो २००औँ अन्तर्राष्ट्रिय खेल हो र उनी यो उपलब्धि हासिल गर्ने भारतको पहिलो तथा विश्वकै दोस्रो खेलाडी बनेकी छिन्। इङ्ल्यान्डकी सार्लोट एड्वर्ड्स २२० खेलमा कप्तानी गर्दै पहिलो स्थानमा छिन्।
खेलका क्रममा भारतकी श्री चरणीले महिला टि-२० विश्वकपको एकै सिजनमा सबैभन्दा बढी विकेट लिने पूनम यादवको कीर्तिमानको बराबरी गरेकी छिन्। दक्षिण अफ्रिकाविरुद्ध तीन विकेट लिएसँगै चालु प्रतियोगितामा उनको कुल विकेट सङ्ख्या १० पुगेको छ। यसअघि पूनमले सन् २०२० को महिला टि-२० विश्वकपमा १० विकेट लिएकी थिइन्।
भारतले यस खेलको पावरप्लेमा दुई विकेट गुमाएर ५९ रन बनाएको थियो। यो महिला टि-२० विश्वकपमा भारतको दोस्रो ठुलो पावरप्ले स्कोर हो। यसै विश्वकपमा भारतले नेदरल्यान्ड्सविरुद्ध बिनाकुनै विकेट ५९ रन बनाएर रेकर्ड राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
टी-२० विश्वकप