मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

nepalviews.com · Mon Jun 22 08:55:43 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।

काठमाडौंस्थित प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि गृहमन्त्री गुरुङले मानसिक दबाब दिएको, ज्यान मार्ने धम्की दिएको तथा गम्भिर मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै आयोगमा उजुरी दर्ता गरिएको हो।

आयोगलाई सम्बोधन गरिएको निवेदनमा काठमाडौं प्रहरी वृत्तको हिरासत कक्षमा जेठ २४ गते भएको भनिएको घटनाबारे तत्काल स्थलगत अनुगमन, छानबिन र मानवअधिकार संरक्षणका लागि आवश्यक कदम चाल्न माग गरिएको छ। यो धम्कीको घटना हुँदा गुरुङ गृहमन्त्री भइसकेका थिएनन् ।

उजुरीमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी प्रदर्शनपछि पक्राउ परेका तीन जना हिरासतमा रहेका बेला गुरुङ नेतृत्वको टोली हिरासत कक्षमै प्रवेश गरेको दाबी गरिएको छ। त्यहाँ गुरुङसहित उपस्थित व्यक्तिहरूले हिरासतमा रहेका अजय भण्डारी, प्रकाश बम र सुजन पौडेलमाथि मानसिक दबाब सिर्जना गरेको, गालीगलौज गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ।

निवेदनमा हिरासत कक्षजस्तो संवेदनशील स्थानमा राजनीतिक पदमा रहेका व्यक्तिको प्रवेशले कानुनी शासनको उल्लंघन भएको उल्लेख गरिएको छ। यस घटनाले नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने, न्याय प्राप्त गर्ने तथा यातनाविरुद्धको अधिकारमाथि आघात पुगेको दाबी गरिएको छ।

उजुरीकर्ताले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, सीसीटीभी फुटेज सुरक्षित राख्न, प्रमाण नष्ट हुन नदिन र पीडितहरूको सुरक्षा सुनिश्चित गर्न आयोगले फास्ट ट्र्याक प्रक्रियामार्फत तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय