बेलायती प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
kendrabindu.com · Mon Jun 22 08:56:39 GMT 2026

काठमाडाैं । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो लेबर पार्टीभित्रैबाट तीव्र दबाब र नेतृत्वको चुनौती सामना गरिरहेका स्टार्मरले अन्ततः राजीनामाको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री निवास बाहिर पत्रकारहरूसँग कुरा गर्दै स्टार्मर निकै भावुक देखिएका थिए । उनले देशको सबैभन्दा ठुलो पद छोडेपछि अब आफ्नो जीवनको “सबैभन्दा महत्त्वपूर्ण काम”मा समय बिताउने बताए।
उनले भने, “म मेरी श्रीमती भिक्टोरियाका लागि सबैभन्दा राम्रो पति बन्ने प्रयास गर्नेछु, जो सुख र दुःख दुवै समयमा चट्टानझैँ मेरो साथमा उभिएकी छिन्। र, मेरा सुन्दर छोराछोरीहरूका लागि सबैभन्दा राम्रो बुबा बन्नेछु, जो मेरो गौरव र खुसी हुन्।”
सन् २०२४ मा लेबर पार्टीलाई ऐतिहासिक र भारी बहुमत दिलाउँदै स्टार्मर प्रधानमन्त्री बनेका थिए । तर, विगत दुई वर्षमा विभिन्न नीतिगत विवाद, आन्तरिक स्क्यान्डल र लोकप्रियतामा आएको भारी गिरावटले उनको नेतृत्वलाई कमजोर बनाउँदै लग्यो। हालैका हप्ताहरूमा उनको पार्टीका करिब एक चौथाइ सांसदहरूले खुला रूपमा नै उनको बहिर्गमनको माग गरिरहेका थिए।
यसैबिच, गत हप्ता भएको ‘मेकरफिल्ड’ उपनिर्वाचनमा लेबर पार्टीकै प्रभावशाली नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहम संसद्मा विजयी भएपछि स्टार्मरमाथि पद छोड्न चौतर्फी दबाब बढेको थियो। बर्नहमलाई अहिले लेबर पार्टीको नयाँ नेता र बेलायतको आगामी प्रधानमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ।
स्टार्मरले आगामी सेप्टेम्बरसम्म वा नयाँ नेता चयन नहुन्जेल कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकार चलाउनेछन् । नयाँ नेतृत्वका लागि ९ जुलाईदेखि मनोनयन खुला हुने र सेप्टेम्बरसम्ममा नयाँ प्रधानमन्त्री चयन भइसक्ने कार्यतालिका छ। तर, यदि एन्डी बर्नहम मात्र एक्लो उम्मेदवार बनेमा उनले जुलाई महिनाभित्रै प्रधानमन्त्रीको कार्यभार सम्हाल्न सक्ने सम्भावना पनि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
किएर स्टार्मर