मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रतिनिधिको चाहना– युग परिवर्तनको महाधिवेशन होस्

shilapatra.com · Mon Jun 22 08:59:00 GMT 2026

रास्वपा महाधिवेशनमा बन्दसत्र सुरु भएको छैन । नेतृत्वले आकांक्षीलाई मिलाउन र सहमतिका लागि नेतृत्वले समय लिएको भनेर महाधिवेशन प्रतिनिधिले बुझेका छन् । उनीहरूले अबको नेतृत्व परिपक्व र देशलाई युगान्तकारी परिवर्तन गर्न सक्ने आउनुपर्ने बताएका छन् ।

उनीहरूले भनेका छन्, 'हामीले चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूसँग अबका नेतृत्व कस्तो हुनुपर्छ भनेर कुरा गरेका छौँ ।'

लक्ष्मण शाही, कैलाली

युग परिवर्तनको महाधिवेशन हो । जसरी रास्वपालाई गत निर्वाचनमा नेपाली जनताको ठूलो आशा, भरोसा र विश्वासका साथ जनमत प्रकट गर्नुभएको छ, त्यो अभिमतलाई पार्टीमाथि युग परिवर्तनको दायित्व छ, हाम्रो नेतृत्वले होल रूपमा केन्द्रीय समितिले चुनौतीलाई सामना गरेर सफल पार्ने काम गर्नेछ ।

परिपक्व, खारिएको र सामाजिक व्यक्तित्वहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा लिएर जानुपर्छ । नेपाली जनताको विकासको सपना छ, रास्वपाले पूरा गर्छ भन्ने विश्वास छ ।

हेमन्तकुमार ऐर, बैतडी, जिल्ला उपसभापति

मैले रास्वपाको महाधिवेशनलाई पर्वको रूपमा हेरेको छु । मजस्तै लाखौँ कार्यकर्ताका लागि यो उत्सवको समय हो । म यसभन्दा अघि कुनै पार्टीसँग आबद्ध थिइनँ । म इन्जिनियरिङ फिल्डको मान्छे हुँ । देशमा रवि र बालेनको विद्रोहलाई साथ दिँदै म पनि राजनीतिमा आएको हुँ ।

मैले पहिलोपटक मतदान गरेर, कुनै पनि राजनीतिक दलको सदस्यता नलिई यसरी आएको छु । पालिकाहुँदै जिल्ला र प्रदेशसँग सक्षम युवाहरू चयन हुनुभएको छ । आगामी स्थानीय तहको चुनावमा पनि उहाँहरूले जितेर परिवर्तन गर्नुहुन्छ भन्ने आशा छ ।

शर्मिला आचार्य, जिल्ला सदस्य, रुपन्देही

पार्टीको महाधिवेशन भइरहँदा व्यक्तिभन्दा माथि उठेर, पार्टीभन्दा माथि उठेर, जनताप्रति उत्तरदायी रहेर पारदर्शी दूरदर्शी अनि इमानदार नेतृत्व चयन गर्नेछौँ । यो महाधिवेशनबाट व्यक्तिभन्दा पनि पार्टी सुदृढ होस् ।

सरकारले ग्रासरुटको मान्छेलाई हेर्नुपर्छ । माथिल्ला वर्गहरू त माथिल्ला वर्गका भइहाले, रास्वपाको सरकार आएपछि सर्वसाधारणले पनि सेवा प्रवाहमा अपनत्व पाऊन् ।

मानबहादुर मोक्तान, उपसभापति, ताप्लेजुङ

महाधिवेशनमा अलिअलि गल्ती कमजोरी त होला । तैपनि अहिलेसम्म ठीक छ । छलफल भइरहेको छ । एउटै घरपरिवारमा त समस्या हुँदा छलफल हुन्छ, यो त पार्टी हो, अहिले छलफल भइरहेको छ । यो देशको भविष्य निर्माण गर्ने नेतृत्व हामीलाई चाहिएको छ । अहिले हाम्रो छलफल पनि त्यहीँ नै केन्द्रित छ ।

नेतृत्व सच्चा इमानदार र राष्ट्रको भलो चिताउने खालको चुनिनुपर्छ। हाम्रो देश दुई ढुंगाबीचको तरुल छ । ती दुई छिमेकी देशहरूलाई पनि अन्तर्राष्ट्रिय रूपमा कन्भिन्स गराउने खालको नेतृत्व चयन हुनुपर्छ । अहिले देखिएको छलफल र विवादलाई निष्कर्षमा पुर्‍याएर सच्चा नेतृत्व चयन गर्नुपर्ने दायित्व पार्टीको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१४:४४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)