मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामा

setopati.com · Mon Jun 22 09:11:54 GMT 2026

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्।

भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारुढ लेबर पार्टीको नेताबाट राजीनामा दिन लागेको र केही हप्ताभित्रै पद छोड्ने घोषणा गरेका छन्।

स्टार्मरले लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म आफू कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहने बताएका छन्। यसले बेलायतलाई एक दशकमा सातौं प्रधानमन्त्रीको दिशातर्फ धकेल्नेछ।

सरकारको खस्कँदो साखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाब बढेपछि स्टार्मरले यो घोषणा गरेका हुन्। उनले जुलाई २०२४ को निर्वाचनमा लेबर पार्टीलाई सानदार जित दिलाएका थिए। तर त्यसयता उनको र पार्टीको लोकप्रियता निकै खस्किएको छ।

बेलायतको संसदीय शासन प्रणाली अन्तर्गत संसद्मा बहुमत भएको दलको नेतृत्व जसले गर्छ, उही देशको प्रधानमन्त्री बन्ने प्रावधान छ।

स्टार्मरको लेबर पार्टीसँग हाल संसद्मा ठूलो बहुमत छ। त्यसैले, उनलाई प्रधानमन्त्रीको रूपमा प्रतिस्थापन गर्ने प्रक्रिया लेबर पार्टीले उनलाई आफ्नो नेताबाट हटाएर सुरु गर्नुपर्ने हुन्छ।

स्टार्मरले आफूले लेबर पार्टीलाई नेतृत्व परिवर्तनको समयतालिका तय गर्न आग्रह गर्ने र उम्मेदवारहरूको मनोनयन जुलाई ९ तारिखदेखि खुला हुने बताए।

उनले नेतृत्वको प्रतिस्पर्धा पूरा नभएसम्म आफू पदमै रहने र सहज रूपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्। स्टार्मरले सेप्टेम्बरमा संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगावै नयाँ नेता र प्रधानमन्त्री चयन भइसक्ने अपेक्षा गरेको बताए।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय