ट्रेलरमा जितु नेपालको ‘आइ एम जीत बहादुर’: कलाकार बन्नका लागि भोग्नु परेका संघर्ष, चुनौती र यात्राको कथा (भिडियो)
kalakarmi.com · Fri May 29 13:48:59 GMT 2026

काठमाडौं- अभिनेता जितु नेपालको निर्माणमा बनेको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको थियो ।
सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छिन् छन् । यसअघि सार्वजनिक गरिएको टीजरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ ।
चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा ‘बाबा’, निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ । तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो चलचित्र विशेष रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)