मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा

nepalviews.com · Mon Jun 22 09:20:32 GMT 2026

एजेन्सी । बेलायती प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले डाउनिङ स्ट्रीटबाहिरबाट बोल्दै पदत्याग गर्ने आफ्नो योजना घोषणा गरेका हुन् । उनले पदमा हुँदा आफूले गरेका सबै निर्णय 'आफूले माया गर्ने देशलाई अगाडि राखेर' गरेको बताए ।

गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टार्मरको उत्तराधिकारी बन्ने ठानिएको छ । तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको उत्तरार्धसम्म कुर्नुपर्ने ठानिएको छ । त्यति बेला लेबर पार्टीको अधिवेशन आयोजना हुन लागेको छ । दुई वर्षअघि पार्टीभित्र भएको निर्वाचनबाट स्टार्मर प्रधानमन्त्री पदका लागि चुनिएका थिए ।

राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू नेतृत्वमा आउँदा लेबर पार्टी 'राजनीतिक,आर्थिक र नैतिक रूपमा टाट पल्टिएको' अवस्थामा भएको बताए । स्टार्मरले आफूलाई 'पटकपटक' पार्टी 'सकियो' भनिएको तर आफूले 'ती मानिसहरूलाई गलत साबित गरिदिएको' बताए ।

उनले 'यहुदीविरोधी भावनाको विषलाई जरैदेखि उखेलेर' पार्टीलाई परिवर्तन गरेको दाबी गरे । 'अर्थतन्त्र, रक्षा र राष्ट्रिय सुरक्षामा विश्वास पुन:स्थापित गर्दै,' उनले भने ।

सोमवार एन्डी बर्नम सांसद पदमा बहाल हुन वेस्टमिन्स्टर जानेछन् । आफ्नो पार्टीले 'के अर्को निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उनी सबैभन्दा उपयुक्त पात्र हुन् त ?' भन्ने प्रश्न सोधेको भन्दै स्टार्मरले आफूले त्यसको 'उत्तर सुनिसकेको' र 'त्यसलाई सहर्ष स्वीकार गर्ने' बताए ।

उनले आफ्नो प्रत्येक निर्णय 'आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर' लिएको बताए । 'म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,' उनले भने । स्टार्मरले आफ्नो राजीनामा दिने निर्णयबारे सोमवार बिहान राजालाई जानकारी दिइसकेको बताए ।

स्टार्मरले राजा चार्ल्ससँग फोनमा कुरा गरेको बुझिएको छ । राजा चार्ल्स अहिले ग्लोस्टर्शरस्थित हाइग्रोभमा छन् । स्टार्मरले लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई ९ जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन बिदासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेका छन् ।

यसको अर्थ सेप्टेम्बरमा संसद् सुरु हुनुअघि नै नयाँ नेता चयन भइसक्नेछन् । त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमै बहाल रहने उनले बताए । स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि निजलाई पूर्ण समर्थन दिने घोषणा गरे ।

त्यसपछि स्टार्मरले विगत छ वर्षदेखि आफ्नो साथमा रहेका आफ्ना मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीट (नम्बर १०) का कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गरे । स्टार्मरले 'देशको सबैभन्दा ठूलो जिम्मेवारी' छोडेपछि अब आफ्नो ध्यान 'सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी' मा केन्द्रित हुने बताए ।

केही भावुक हुँदै उनले भने, 'मेरी पत्नी भिक जो सुख र दुःख दुवै समयमा मेरो जग बनेर साथमा रहिन्, उनका लागि म जतिसक्दो राम्रो पति बन्नेछु ।' कुरा टुङ्ग्याउँदै उनले भने, 'अनि मेरा सुन्दर छोराछोरी जो मेरा गौरव र खुसी हुन्, उनीहरूका लागि म जतिसक्दो राम्रो पिता बन्नेछु ।' डाउनिङ स्ट्रीटभित्र फर्किनुअघि उनले आफ्नी पत्नी भिक्टोरियालाई अङ्कमाल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय