मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एघार महिनामा आए २५ अर्ब ५६ करोडका १० हजार ईभी गाडी, बजेट अगावै कति भित्रिए ?

corporatenepal.com · Mon Jun 22 09:47:24 GMT 2026

काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट चालु आर्थिक वर्ष २०८२–०८३ को जेठसम्ममा १० हजार ८४७ वटा विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार २ वटा अन–एसेम्बल गरिएको गाडीसहित २५ अर्ब ५६ करोड २३ लाख ११ हजार रुपियाँको उक्त ईभी गाडी आएका हुन् ।

चालु आवको ११ महिनामा विभिन्न भन्सार नाका हुँदै उक्त मूल्य बराबरको गाडी आउँदा सरकारलाई १५ अर्ब ४७ करोड ७० लाख ३ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । कार सेग्मेन्टमा यतिका गाडी भित्रिदा नेपालमा ईभीको बजार मौलाउँदै गएको प्रष्ट हुन्छ ।

Advertisement

साथै, आर्थिक वर्ष २०८३–०८४ बजेट भाषण अगाडि नै पनि उल्लेख्य संख्यामा गाडी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो महिना अर्थात् वैशाखसम्ममा कुल यस्ता सवारी ८ हजार ६०७ वटा आएको थिए । योसँग तुलना गर्दा जेठमा मात्रै एक हजार ४७८ वटा गाडी भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।

एकै महिनामा यतिका गाडी बजारमा भित्रिदा बजेटबाट कर बढ्ने अवस्थाको मूल्याङ्कन गर्दै भित्रिएको अनुमान गर्न सकिन्छ । नेपालमा ईभीप्रति आकर्षण र प्रयोगमा रफ्तार देखिँदा आयातमा पनि उल्लेख वृद्धि भएको हो ।

चालु आवको जेठसम्म ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ । यस्तै, ५० किलोवाटका ३ सय ६८० वटा, ५१ देखि १०० किलोवाटका ६ हजार ३५७ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७९८ वटा र २०१ देखि ३०० किलोवाट क्षमतासम्मको १० वटा ईभी गाडी आएका छन् ।

५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । जेठसम्ममा मात्रै १ अर्ब ८ करोड ८६ लाख ३१ हजार रुपियाँको ८ हजार ५३४ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

अन–एसेम्बल ९९ करोड ४० लाख ९२ हजार रुपियाँको तीन पाङ्ग्रे ९ हजार ५४२ वटा भित्रिएका छन् । पेट्रोल डिजेलको तुलनामा बिजुली सस्तोमा उपलब्ध हुँदा पनि बिजुली गाडीको नेपालमा लोकप्रियता बढ्दै गएको हो ।

नेपालमा ईभी प्रयोगको बढ्दो क्रममा कार सेग्मेन्टमा मात्रै नभई हरेक सेग्मेन्टका सवारीको आयातमा ईभीको वर्चस्व देखिन्छ । प्रयोगकर्ताको रोजाइ र ईभीलाई लिएर बढ्दै गएको विश्वासले आयात उच्च भएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ईभी प्रतिको आकर्षणलाई थप बढाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय