मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

११ महिनामा वैदेशिक व्यापार १४.७८ प्रतिशत बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो

setopati.com · Mon Jun 22 10:01:48 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रूपैयाँ थियो।

यो अवधिमा आयात १५.१६ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको पहिलो ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड रूपैयाँ बराबरको वस्तु आयात भएकोमा चालु वर्ष सोही अवधिमा १८ खर्ब ९४ अर्ब ९ करोड रूपैयाँ पुगेको छ।

निर्यात पनि बढेको छ। ११ महिनामा निर्यात १२.२८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ पुगेको छ।

अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ।

यो अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रूपैयाँ थियो।

तथ्यांकले नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको देखाएको छ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा आयात–निर्यात अनुपात ६.८१ पुगेको छ।

यसको अर्थ प्रत्येक १ रूपैयाँ बराबरको निर्यात हुँदा ६.८१ रूपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६.६४ थियो।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा घटेको छ।

अघिल्लो वर्ष कुल व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकामा चालु वर्ष १२.८० प्रतिशतमा झरेको छ।

यसैगरी कुल व्यापारमा आयातको हिस्सा बढेको छ।

अघिल्लो वर्ष ८६.९२ प्रतिशत रहेको आयातको हिस्सा चालु वर्ष ८७.२० प्रतिशत पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)