‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
ratopati.com · Mon Jun 22 10:09:11 GMT 2026

न्युयोर्क । पोर्चुगलका विङ्गर फ्रान्सिस्को कोन्सेइसाओले विश्वकपको पहिलो खेलमा दिग्गज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको प्रदर्शनलाई लिएर टिकाटिप्पणी भइरहे पनि टोलीका खेलाडीहरूमाथि उनलाई नै बल पास गर्नुपर्ने कुनै दबाब नरहेको स्पष्ट पारेका छन्।
डीआर कंगोसँगको खेल १-१ को बराबरीमा सकिएपछि ४१ वर्षीय रोनाल्डोको मैदानभित्रको घट्दो गतिशीलताले पोर्चुगलको सम्भावनालाई असर गरिरहेको भन्दै आलोचकहरूले प्रश्न उठाएका थिए।
आइतबार आयोजित पत्रकार सम्मेलनमा युभेन्टसका खेलाडी समेत रहेका कोन्सेइसाओले मैदानमा अन्य खेलाडीहरू राम्रो स्थितिमा हुँदाहुँदै रोनाल्डोलाई नै बल दिनुपर्ने बाध्यता कसैलाई नहुने बताए। उनले भने, ‘हामीलाई उनलाई नै बल पास गर्नुपर्छ भन्ने लाग्दैन। म मैदानमा जो खेलाडी उत्कृष्ट स्थानमा छ र जसलाई विपक्षीले मार्क गरेको छैन, उसैलाई बल पास गर्छु।’
रोनाल्डोलाई टोलीको एउटा सामान्य सदस्यका रूपमा हेरिने भन्दै उनले सामूहिक सफलताका लागि प्रत्येक व्यक्तिको योगदान आवश्यक पर्ने उल्लेख गरे। ४१ वर्षको उमेरमा पनि रोनाल्डोमा रहेको भोक, खेल जीवन र नेतृत्वदायी क्षमता सबैका लागि उदाहरण भएको र उनी अरू खेलाडी जस्तै टोलीलाई मद्दत गर्न यहाँ आएको कोन्सेइसाओको भनाइ छ।
डीआर कंगोविरुद्धको खेलमा रोनाल्डो निकै शान्त देखिएका थिए। खेलभर उनले जम्मा २५ पटक मात्र बललाई स्पर्श गरे, जुन पोर्चुगलका लागि कुनै पनि ठुलो प्रतियोगितामा पुरै समय मैदानमा रहँदा उनको सबैभन्दा कम बल टच हो। यसको ठिक विपरित, उनका पुराना प्रतिस्पर्धी ३८ वर्षीय लियोनल मेस्सीले एक दिन अघि नै ह्याट्रिक गर्दै साविक विजेता अर्जेन्टिनालाई अल्जेरियाविरुद्ध ३-० को जित दिलाएका थिए।
पोर्चुगलले अब मङ्गलवार ह्युस्टनमा उज्बेकिस्तानविरुद्ध समूह ‘के’ को आफ्नो दोस्रो खेल खेल्दै छ, जहाँ टोलीलाई पुनरागमनका लागि जित्नैपर्ने दबाब छ। कोन्सेइसाओले पहिलो खेलमा आफ्नो जिम्मेवारी सोचे जस्तो गर्न नसकेको स्वीकार गर्दै अर्को खेलमा गुणस्तरीय प्रदर्शन गरेर जित निकाल्ने दाबी गरे।
पहिलो खेलको नतिजापछि फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले फक्स च्यानलमा बोल्दै रोनाल्डो स्वार्थी भएको आरोप लगाएका थिए। हेनरीले भनेका थिए, ‘टोलीलाई गोलको आवश्यकता छ, तिमी आफैलाई मात्र गोल चाहिएको होइन।’
यता डीआर कंगोका मिडफिल्डर न्गालायेल मुकाउले रोनाल्डो पहिले जस्तो खेलाडी नरहेको र उमेरका कारण पहिले जस्तो मिहिनेत गर्न नसक्ने टिप्पणी गरे। प्रशिक्षक रोबर्टो मार्टिनेज पनि यस आलोचनाबाट बच्न सकेका छैनन्। कतिपय विश्लेषकहरूले मार्टिनेज कप्तान रोनाल्डोलाई मैदानबाट हटाउन वा बेन्चमा राख्न डराएको आरोप लगाएका छन्।
खेलको ८३औँ मिनेटमा मिडफिल्डर भिटिन्हालाई मैदान बाहिर पठाएर पेरिस सेन्ट जर्मेनका स्ट्राइकर गोन्सालो रामोसलाई मैदान छिराउँदा रोनाल्डोलाई नै खेलभर राखिएपछि पूर्व प्रिमियर लिग स्ट्राइकर क्रिस सटनले बीबीसीमा टिप्पणी गर्दै भनेका थिए, ‘मार्टिनेजको यो निर्णय लाजमर्दो छ। उनी रोनाल्डोलाई बाहिर निकाल्न डराउँछन्। उनी वास्तविक म्यानेजर होइनन्, आजको खेल रोनाल्डोको नियन्त्रण बाहिर गइसकेको थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)