विश्वकपमा पिंक जुत्ताको ट्रेन्ड : एम्बाप्पेदेखि हालान्डसम्मले किन रोजिरहेका छन् एकै रङ्ग ?
nepalpress.com · Mon Jun 22 10:14:39 GMT 2026

एजेन्सी । आगामी जुलाई १९ मा न्युजर्सीको मेटलाइफ स्टेडियममा विश्वकपको फाइनल खेलपछि सर्वाधिक गोलकर्तालाई ‘गोल्डेन बुट’ प्रदान गरिनेछ । तर, यसपटकको मैदानको दृश्य हेर्ने हो भने त्यो अवार्डको रङ गुलाबी (पिंक) हुनुपर्ने जस्तो देखिन्छ ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेको यस विश्वकपमा एउटा अनौठो ट्रेन्ड देखिएको छ-यत्रतत्र गुलाबी रङका जुत्ता । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा त मैदानमा उत्रिएका २२ मध्ये १९ जना खेलाडी गुलाबी रङकै जुत्तामा सजिएका थिए ।
यो ट्रेन्ड केलियन एमबाप्पे र अर्लिङ हालान्ड जस्ता सुपरस्टारहरूमा मात्र सीमित छैन । केप भर्ड र कुरासाओ जस्ता साना राष्ट्रका खेलाडीहरूले पनि यही रङको जुत्ता रोजेका छन् । एडिडास, नाइकी, पुमा, न्यु ब्यालेन्स र स्केचर्स जस्ता सबै ठूला कम्पनीहरूले यसपटक आफ्ना नयाँ लाइनमा गुलाबी रङलाई नै प्राथमिकता दिएका छन् । एडिडासले यसलाई ‘सोलार टर्बो’ नाम दिएको छ भने पुमाले ‘पोइजन पिंक’।
किन रोजियो गुलाबी रङ ?
विश्वका ठूला जुत्ता उत्पादक कम्पनीहरूले एकैपटक गुलाबी रङ रोज्नुका पछाडि केही मुख्य कारणहरू छन् :
१. भिजिविलिटी : न्यु ब्यालेन्सका फुटबल उत्पादन प्रमुख रोब शेल्डनका अनुसार चम्किलो रङले मैदानको भीडभाड र तनावका बीच खेलाडीहरूलाई एकअर्कालाई चिन्न सजिलो बनाउँछ । साथै, टेलिभिजनमा खेल हेरिरहेका करोडौँ दर्शकको ध्यान ब्रान्डको लोगोतिर सजिलै जान्छ ।
२. आत्मविश्वास र व्यक्तित्व : नाइकीका अनुसार आधुनिक खेलाडीहरू आफ्नो जुत्तामार्फत आफ्नो व्यक्तित्व र आत्मविश्वास झल्काउन चाहन्छन् । ‘जब तपाईं गुलाबी जस्तो चम्किलो रङ लगाउनुहुन्छ, तपाईंमा एउटा आत्मविश्वास हुनुपर्छ कि तपाईंको खेल पनि त्यस्तै उत्कृष्ट छ’ नाइकीका ओडिङ्गा निमाको भन्छन् ।
३. व्यापारिक रणनीति: ‘डब्लुजीएसएन’ नामक ट्रेन्ड विश्लेषक संस्थाले सन् २०२४ मै भविष्यवाणी गरेको थियो कि २०२६ सम्ममा गुलाबी र बैजनीको मिश्रण रङले बजार ओगट्नेछ । अहिले विश्वकपमा देखिएका गुलाबी जुत्तामध्ये झण्डै ४८ प्रतिशत यही श्रेणीका छन् ।
केही फरक देखिने स्टारहरू
सबैजना गुलाबी रङमा झुम्मिइरहँदा केही स्टारहरूले भने फरक तरिका रोजेका छन् । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आफ्नो देशको झण्डाको रङ (नीलो र सेतो) झल्किने गरी विशेष रूपमा बनाइएको ‘एल अल्टिमो ट्याङ्गो’ जुत्ता लगाएका छन् । त्यस्तै, अमेरिकी कप्तान क्रिस्टियन पुलिसिचले पनि आफ्नै सिग्नेचर स्टाइलको नीलो र सेतो जुत्ता प्रयोग गरिरहेका छन् ।
विशेषज्ञहरूका अनुसार जुत्ताको रङले मैदानमा ध्यान तान्न मद्दत गरे पनि प्रदर्शनका लागि भने गुणस्तर नै मुख्य कुरा हो । ‘कुनै पनि खेलाडी रङका कारण मात्र विश्वकपको मैदानमा पुगेका हुँदैनन्, उनीहरू आफ्नो प्रदर्शनका कारण त्यहाँ छन्। रङ त केवल देखिने पाटो मात्र हो,’ शेल्डनले थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
गोल्डेन बुट