देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
baahrakhari.com · Mon Jun 22 10:13:36 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् ।
भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित ‘टाइगर सेन्चुरी’ निर्माणस्थलको स्थलगत अवलोकन गरेकी छन् । सरकारले देवनगरमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारिरहेको छ । देशभर करिब एक दर्जनभन्दा बढी समस्याग्रस्त बाघहरू इन्क्लोजरमा राखिएको छ । तिनको व्यवस्थापन खर्चिलो बन्दै गएको पृष्ठभूमिमा सरकारले देवनगरमा करिब ५० हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ ।
मन्त्री चौधरीले टाइगर सेन्चुरी निर्माण भएमा समस्याग्रस्त र घाइते बाघहरूले प्राकृतिक वातावरण पाउने मात्र नभई पर्यापर्यटनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले यसका लागि आवश्यक योजनाबारे निकुञ्ज प्रशासनसँग छलफल समेत गरेकी छन् ।
मन्त्री चौधरीले चितवनको खोरसोरमा रहेको हात्ती प्रजनन् केन्द्रका समस्या र आवश्यकताका बारेमा जानकारी लिएकी छन् । स्थापनाको ३३ वर्षमा ६८ वटा हात्तीका छावाहरू जन्माएर संरक्षणमा योगदान पुर्याएको प्रजनन् केन्द्रका बारेमा उठेका प्रश्नरूलाई पनि सम्बोधन गर्न खोजिन् । केन्द्रमा माउ तथा छावाहरूको स्वास्थ्य, आहारा व्यवस्थापन र कार्यक्षेत्रका चुनौतीबारे निकुञ्जका अधिकारीहरूसँग छलफल गरेकी थिइन् ।
चितवनको राष्ट्रिय निकुञ्ज कार्यालयसँगै मन्त्री चौधरीले घडियाल प्रजनन् केन्द्र पनि भ्रमण गरिन् । उनले घडियाल गोहीहरूको संरक्षण र संख्या वृद्धिका लागि सञ्चालित कार्यक्रमले नदी तटीय क्षेत्रको पारिस्थितिकीय प्रणाली सुधारमा जोड दिइन् ।
चितवनको टिकौलीस्थित पञ्चकन्या सामुदायिक वन (रत्नगर क्षेत्र)मा कृष्णसार स्थानान्तरणका लागि भइरहेको अन्तिम तयारीको मन्त्रालयको टोलीले निरीक्षण गरेको हो । पर्यापर्यटन एवं संरक्षणको उद्देश्यका कृष्णसार ल्याउने तयारी छ । मन्त्री चौधरीले कृष्णसारको सुरक्षित बसोबास सुनिश्चित गर्न निर्देशन दिइन् । टिकौलीमै रहेको सशस्त्र वन रक्षक तालिम केन्द्रको निरीक्षण गरी वन रक्षकहरूको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार र वन्यजन्तु अपराध नियन्त्रणका लागि तालिमको आधुनिकिकरण हुनुपर्नेमा जोड दिइन् ।
अनुसन्धान र प्रविधिको पाटोलाई नियाल्दै मन्त्री चौधरीले चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अत्याधुनिक वन्यजन्तु जेनोमिक ल्याबको समेत भ्रमण गरिन् । वन्यजन्तुको अनुवांशिक अध्ययन र वैज्ञानिक अनुसन्धानका गतिविधिबारे जानकारी लिँदै उनले तथ्यमा आधारित संरक्षण नीति निर्माण गर्न यो प्रयोगशाला महत्त्वपूर्ण रहेको बताइन् ।
#सरकार
#रास्वपा
#टाइगर सेन्चुरी
#बाघ व्यवस्थापन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ