तीन पूर्वअर्थमन्त्रीका आँखामा ‘स्वर्णिम वाग्ले बजेट’
baahrakhari.com · Fri May 29 14:49:23 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे । पूर्वअर्थमन्त्रीहरूले बजेटलाई विभिन्न दृष्टिकोणबाट नियालेका छन् ।
‘उस्तै ढाँचामा गुणात्मक र संरचनागत परिवर्तन कसरी आउला ?’ डा. बाबुराम भट्टराई
बजेटमा उहाँहरूको प्रस्तुति, शब्दहरूको चयन राम्रो छ । केही ‘कस्मेटिक’ सुधार छन्, नयाँ निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, करमा छुट दिने, गैरआवासीय नेपालीलाई पनि अलि आकर्षित गर्ने, आईटी पोख्त युवाहरूलाई प्रोत्साहन गर्ने भन्ने आदर्शकै छन् ।
तर, उहाँहरूले संरचनात्मक सुधार गर्ने कुरा गर्नुभयो, त्यसमा त्यति धेरै होला जस्तो चाहिँ मलाई लागेन । किनभने त्यो बजेटको परम्परागत ढाँचा जुन छ, राजस्वको आय/व्ययको जुन अनुपात छ र जुन खर्चको संरचनात्मक ढाँचा छ, खासै फरक छैन । उदाहरणका लागि हाम्रो साधारण खर्च ६० प्रतिशत आसपास नै हुने गरेको छ । विकास खर्चमा खासै परिवर्तन भएन ।
शिक्षा, स्वास्थ्यमा खासै सुधार छैन । हाम्रो पालामा त झन्डै १७ प्रतिशतसम्म थियो, त्यो त घट्दै आएको छ । संरचनागत ढाँचामा खासै अन्तर छैन ।
संघीयतामा ७२ प्रतिशत संघमा र २८ प्रतिशत तल जाने गरेको थियो । मोटामोटी सुन्दा ७२ प्रतिशत केन्द्र र २८ प्रतिशत तल छ । समग्र ढाँचा उस्तै–उस्तै छ, अब त्यही नै कायम राखेर गुणात्मक परिवर्तन, संरचनागत परिवर्तन कसरी आउँला भन्ने प्रश्न चाहिँ छ । तर, पनि नयाँ ढंगले प्रस्तुत गर्नुभएको छ । शंकाको सुविधा दिँदै उहाँहरूलाई हेरौँ ।
एकदमै आक्रामक भएमा बजेटले परिणाम ल्याउन सक्छ : जनार्दन शर्मा
बजेट नयाँ उत्साह, जोस–जाँगरसहित प्रस्तुत भएको छ । बजेटमा नीतिगत सुधारका विषयमा धेरै प्रतिबद्धता आएका छन् । यी सुधार भए भने कार्यसम्पादनमा धेरै सहजता हुनेछ । अर्थमन्त्रीले आक्रामक ढंगले हामी अगाडि बढ्छौँ भन्नुभएको छ । त्यसरी अघि बढ्दा कानुनका क्षेत्रमा जुन समस्या, अलमल थिए त्यसलाई सहज बनाउने छ ।
दोस्रो कुरा, उत्पादनमुखी बजेटका रूपमा परिभाषित गरिएको छ । उत्पादनमा जोड दिने कुरा गर्दै औद्योगिक क्षेत्रलाई विशेष महत्त्व दिएको मैले पाए ।
कृषि क्षेत्र पनि प्राथमिकतामा परेको छ । ऊर्जा, पर्यटन र नवप्रवर्तनहरूलाई अलि विशेष महत्त्वसहित सात प्रतिशतको आर्थिक वृद्धिको महत्त्वाकांक्षाको लक्ष्य राखेको छ । नीतिगत सुधार निम्ति उत्पादनमा जोड र पुँजी परिचालनका बुँदा आएका छन् । पुँजी परिचालनका तमाम नयाँ विषय र डिजिटल अर्थतन्त्र निर्माणतर्फ उन्मुख भएको बजेट छ । यसलाई सकारात्मक रूपमा राष्ट्र निर्माणमा योगदान गर्न सक्ने अर्थमा लिएको छु । सुशासन स्थापित गर्ने र शून्य सहनशीलताका विषय प्राथमिकतामा परेको छ ।
बजेटकै शब्दमा नयाँ परिभाषामा नयाँ पार्टीको उद्देश्यअनुसार विकसित गरिएको हो । त्यसकारण सरकारले नीतिगत सुधार, कानुनी सुधार गर्न सक्दा र कार्यान्वयनको क्षेत्रमा एकदमै आक्रामक भएर जाँदा यसले परिणाम ल्याउन सक्छ भन्ने हो ।
बजेट त महत्त्वाकांक्षी नै हुनुपर्छ । तर, यसलाई धेरै महत्त्वाकांक्षी त भन्न मिल्दैन । यसले सामाजिक महत्त्वाकांक्षासहित एउटा लक्ष्य राखेको छ । नीतिगत र व्यावहारिक कार्यान्वयनका क्षेत्रमा भोलिका क्रियाकलापले यसको लक्ष्य प्राप्ति गर्ने कुरा छुट्टिने हो । समग्रमा बजेटलाई राम्रै भन्न सकिन्छ ।
बजेटको आकार अस्वाभाविक ‘सुन्निएको’ छ : वर्षमान पुन
यो बजेट अलि ‘सुन्निएको’ खालको भयो । १८ खर्ब ६० अर्बको सिलिङबाट २१ खर्ब २४ अर्ब भनेपछि तीन खर्ब हाराहारीमा बढ्ने भनेको त्यो त सुन्निएकै हो । बजेटको आकार अस्वाभाविक देखियो । एकातिर यति धेरै स्रोत जुट्न सक्दैन । १२ खर्बको स्रोत जुट्ला, बाँकी सात खर्ब हाराहारी कहाँबाट ल्याउने ? ६ खर्ब त ऋण काढ्ने कुरो छ ।
अर्को चाहिँ फेरि कार्यान्वयन पनि हुँदैन, स्रोत नै नभएपछि कसरी कार्यान्वयन हुन्छ ? केही कार्यक्रममा निरन्तरता छ, यो सकारात्मक देखिन्छ ।
हाम्रो सरकारले ल्याएका राम्रा कार्यक्रमहरूको निरन्तरता छ । कर्णाली, मधेसलगायत प्रदेशहरूको विशेषता अनुसारका कार्यक्रम संघीयताका आधारमा ‘फोकस’ गर्ने विभिन्न नाममा निरन्तरता दिइएको छ ।
बजेट वितरणका सवालमा सामाजिक क्षेत्रमा त्यो राम्रै छ । मध्यम वर्गलाई छुट, राहत दिने कुरो राम्रै छ । तर, तल्लो वर्गका लागि सरकारले केही गरेको जस्तो देखिएन । सुकुम्वासी, मजदुर अनि भूमिहीन, बेरोजगारहरूलाई राहत प्याकेज हुनुपर्ने हो, छैन । बजेट मध्यम वर्गकेन्द्रित जस्तो देखिन्छ ।
उहाँहरूले ऋण बढी भन्नुहुन्थ्यो, यसमा त झन् ऋण बढी ल्याउनुभएको छ । हामी तल्लो वर्गका लागि वितरण गथ्र्यौँ, उहाँहरूले मध्यम वर्गलाई वितरण गर्ने गर्नुभएको छ । ठूलो आकारको बजेट आयो भनेर कमेन्ट्स गर्नुहुन्थ्यो, झन् ठूलो ल्याउनुभयो ।
हामीले लगानीमैत्री वातावरण बनाउने कुरा गथ्र्यौँ, उहाँहरूले कुन–कुन सेक्टर भन्ने कुरामा स्पष्ट नभएको देखियो । केही–केही कुराहरू निरन्तरता देखियो, त्यसलाई त हामीले स्वागत नै गर्छौं ।
#बजेट
#अर्थमन्त्री
#स्वर्णिम वाग्ले
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)