शासक हुन् वा नेता, कोहीसँग नझुकेका प्रजातन्त्रवादी राजेन्द्र खरेल
baahrakhari.com · Mon Jun 22 10:23:00 GMT 2026

काठमाडौं । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आफ्नो सर्वस्व गुमाउन तयार प्रजातन्त्रवादी नेता हुन्, राजेन्द्र खरेल । अधिनायकवादी पञ्चायतविरुद्ध उनी निरन्तर लडे । तिनै प्रजातन्त्रवादी नेता खरेल अब हामीबीच रहेनन् ।
उनको ८० वर्षको उमेरमा आइतबार राति निधन भएको छ । बहुदलपछि एकपटक सांसद र राज्यमन्त्रीसम्म भए, त्योभन्दा बढी उनलाई पद मिलेन ।
उनी ०५६ सालमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए, जतिखेर एमाले विभाजित हुँदै माले बन्दाको लाभ उनलाई मिलेको थियो । कम्युनिस्ट पार्टी विभाजन हुँदा उनलाई संसद् पुग्ने अवसर प्राप्त भएको थियो ।
०५६ मा उनलाई कृष्णप्रसाद भट्टराई (किशुनजी) नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री पद मिलेको थियो । ०५८ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीसम्म बने । खरेलको सार्वजनिक पद पनि त्यतिमै सीमित भयो ।
लोकतन्त्र र कांग्रेस राजनीतिमा उनी निरन्तर सक्रिय भए । नयाँ बानेश्वरको रैथाने समाजसेवीको पहिचान र पर्याप्त मानसम्मान कमाए । उनले निर्वाचन लड्न भने जन्मथलो काभ्रेपलाञ्चोक रोजेका थिए ।
उनले ०४८ र ०५१ मा लगातार चुनावमा हार व्यहोरे, काभ्रेपलाञ्चोक कम्युनिस्ट किल्लाका कारण । एमाले विभाजन हुँदा तेस्रोपटकको प्रतिस्पर्धामा उनी सांसद बनेका थिए ।
२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मेका थिए उनी । उनले बानेश्वरको ‘लक्ष्मी दिदी’को चिया पसललाई भेटघाटको केन्द्र बनाउँदै पञ्चायतकालमा ‘विरोधी राजनीति’ चर्काएकोे उनका निकट मित्रहरूको स्मरण छ ।
वरिष्ठ अधिवक्ता एवं पूर्वसांसद राधेश्याम अधिकारी भन्छन्, ‘‘हामी ५० वर्षभन्दा बढी सँगै चिया खाने र नियमित भेट्ने मित्र हौँ । उहाँ (राजेन्द्र खरेल)ले पञ्चायतकालमा निरन्तर व्यवस्थाविरोधी विद्रोही भावना विकासमा काम गर्नुभयो ।’’
अधिकारीको स्मरणमा खरेल साहसी प्रजातन्त्रवादी नेता थिए । प्रजातन्त्रका पक्षमा र अन्यायविरुद्ध उभिनु उनको पहिचान थियो ।
“उहाँले कसैसँग पनि झुकेर बोल्नु भएन । प्रजातन्त्र र न्यायका पक्षमा उहाँ जहाँ उभिनुपरे पनि तयार हुनुहुन्थ्यो,” अधिकारी भन्छन्, “नेताहरूले पनि उहाँको स्वभावलाई मन पराएकै देखियो । दुईपटक लगातार चुनाव हार्दा पनि उहाँलाई नै टिकट दिएर सांसद बन्नुभयो र राज्यमन्त्री पनि बन्नुभयो ।”
समाजसेवाका काममा लागिरहेका खरेल पञ्चायती अत्याचारविरुद्ध उभिँदाउभिँदै राजनीतिमा पुगेका थिए । त्यही समयमा कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग निकट भएपछि उनी पार्टी र राजनीतिमा जोडिएका हुन् ।
०२८ सालमा बानेश्वरमा श्रीमान्को मृत्युमा जुठो बार्न कोरामा बसेकी एक महिलालाई पक्रन प्रहरी पुग्दा उनले झापड हानेको प्रसंग ०७३ माघ ३ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित उनैको आलेखमा उल्लेख छ ।
किशुनजीसँगै जेल बसेको, जेलमै पञ्चायती शासकले नक्कली थुनुवा पठाएर प्रजातन्त्रवादीलाई दुर्व्यवहार गरेको प्रसंग समेत उनले उल्लेख गरेका छन् ।
“जेलमा कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, रामराजाप्रसाद सिंह, भीमबहादुर तामाङलगायत ८६ जना थियौँ । हामी त्यहाँ पुग्दा जेलमा रहेका सोनाम छिरिङहरूले ‘चुच्चे र नाक थेप्चे’ नारा लगाए । उनीहरूलाई पञ्चायतले घुसपैठ गराएको रहेछ । भीमबहादुरजी स्वतः थेप्चेमा जानुपर्ने, तर उहाँ नगएपछि रिसले खान दिएको भातको डल्लोले छिरिङले उहाँलाई टाउकोमा हान्यो,” खरेलले लेखेका छन् ।
खरेलकै शब्दमा, “जेलमा पेटभरि खान पाइन्नथ्यो । त्यसमा पनि आफूले राजनीतिक गुरु मानेका भीमबहादुरजीलाई छिरिङले भातको डल्लोले टाउकोमा हान्यो । विद्रोही र क्रान्तिकारी स्वभावको मलाई यो दृश्य पाच्य भएन । मैले छिरिङको कठालो समातेर एक तलामाथि रहेको भान्साबाट तल खसालेँ । ऊ मभन्दा बलियो थियो । मलाई समात्यो । तर, बलियोले मात्रै काम गर्दैन, आँट र डेडिकेसन (समर्पण) पनि चाहिन्छ ।”
उक्त प्रसंगमा खरेलले छिरिङले आफूलाई ढुंगा उठाउँदै हान्न लाग्दा युवा नेता बलबहादुर केसीले ढुंगा फालेर धकेलिदिएको उल्लेख गरेका छन् । त्यति बेला झगडा मिलाउन अग्रसर भएकाहरूले छिरिङलाई बाहिर राखेर खरेललाई कोठामा थुनिदिएका थिए । तर, ढोका फोडेर आफू बाहिर निस्किएको र छिरिङलाई त्यहाँबाट लखेटेको पनि उनले लेखेका छन् ।
“त्यसपछि ऊ अघिअघि भाग्यो, म पिछा गर्दै ‘यसलाई नसिध्याई छोड्दिनँ’ भन्दै दौडिरहेँ । ऊ भागेर जेलको चौकीदारको शरणमा पुगेर भन्यो, ‘गुहार गुहार ! मलाई राजेन्द्र खरेलले मार्न लाग्यो ।’ हेर्नेको तमासा लाग्यो । चौकीदारले मलाई भित्र र उसलाई बाहिर राखी बीचमा रहेको ढोका बन्द गर्यो,” खरेलले भनेका छन्, “त्यस दिनदेखि ऊ फर्किएन । अनि हामी निश्चित भयौँ, ऊ त पञ्चायतकै मान्छे पो रहेछ ।”
जेलमा रहँदा समेत नेताहरूको सुरक्षामा साहस देखाउन खरेलले किशुनजीको अघोषित सुरक्षा टिम बनाएका थिए । उति बेला कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा सक्रिय हालका वरिष्ठ पत्रकार किशोर नेपाल पनि राजेन्द्रकै टिममा रहेर किशुनजीको सुरक्षामा खटिने गर्थे ।
“हामी बानेश्वरमा राजेन्द्र खरेलकै पुरानो घरमा भेला हुन्थ्यौँ । लक्ष्मी दिदीको चिया पसलमा चिया खान्थ्यौँ । कहिलेकाहीँ भोक लाग्दा दिदीलाई पकाउन लगाएर खाना खान्थ्यौँ,” उति बेलाको प्रसंग सम्झँदै नेपालले बाह्रखरीसँग भने, “किशुनजीलाई जुनसुकै बेला जे पनि हुने अवस्था थियो । हामी किशुनजीलाई बानेश्वरमै भेट्थ्यौँ । उहाँलाई घरसम्म पुर्याएपछि मात्र आफ्नो घर फर्किन्थ्यौँ ।”
नेता हरिबोल भट्टराई र खरेलले नै योजना बनाउँदै स्नातकबाट निर्वाचित राष्ट्रिय पञ्चायत सदस्य रामराजाप्रसाद सिंहलाई सिंहदरबार प्रवेश गराएको प्रसंग सुनाउँदै उनले भने, ‘‘राजेन्द्र खरेल सुरो मात्र नभएर कुशल रणनीतिकार पनि थिए ।’’
पञ्चायतकालमा स्नातक कोटाबाट राष्ट्रिय पञ्चायत सदस्यमा रामराजाप्रसाद सिंहसँगै कानुनविद् कृष्णप्रसाद भण्डारी, प्रयागराज सिंह सुवाल र डा. प्रकाशचन्द्र लोहनी निर्वाचित भएका थिए ।
सिंहको छवि गणतन्त्रवादी भएकाले उनलाई प्रवेश निषेध गर्ने पञ्चायती शासकको रणनीति थियो । हरिबोल भट्टराई र खरेल भने सिंहलाई सिंहदरबार प्रवेश गराउनेतर्फ लागेका थिए ।
त्यति बेला आफूहरूले सिंहदरबारको पूर्वी गेटमा रामराजाप्रसाद सिंहका पक्षमा नारा लगाएको सम्झन्छन्, किशोर नेपाल । अर्कोतर्फ, पञ्चायत समर्थक पनि प्रवेश निषेध गर्न नाराबाजीमै थिए ।
“उनको शपथ रोक्ने पञ्चायती शासकहरूको तयारी थियो । हामी पनि सिंहको समर्थनमा नाराबाजीमा थियौँ । तर, हामीलाई सिंह सिंहदरबार प्रवेश गरेको थाहै भएन,” नेपालले त्यति बेलाको प्रसंग सम्झँदै भने, “साँझ मात्र थाहा भयो, उहाँहरूकै रणनीतिमा त्यो सम्भव भएको रहेछ ।”
कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा चुनाव हराएपछि गिरिजाप्रसाद कोइरालाविरोधी छवि बनाएका थिए खरेलले । किशुनजीलाई हराएको र प्रधानमन्त्री हुँदा काम गर्न नदिई कोइरालाले ‘अपराध’ गरेको उनको निष्कर्ष थियो ।
त्यसो त कोइरालाविरोधी भएकै कारण खरेल राजनीतिबाट किनारामा पुगे । संघर्ष गर्नेहरूलाई त्यसरी पाखा लगाइए पनि आफूले देशको हित र पार्टीमा निभाएको भूमिकाप्रति पश्चात्ताप नरहेको उनी बताउने गर्थे ।
उनी भन्ने गर्थे– प्रजातन्त्रका लागि आफ्नो जीवनमा जति दुःख गरियो, त्यो बेकार लाग्दैन । जीवन सुख र दुःख होइन, स्वाभिमान हो ।
#नेपाली कांग्रेस
#काभ्रेपलाञ्चोक
#पञ्चायती व्यवस्था
#राजेन्द्र खरेल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ