मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालकाे वैदेशिक व्यापार  २१ खर्ब ७२ अर्ब नाघ्याे, कति पुग्याे व्यापार घाटा ?

arthadabali.com · Mon Jun 22 11:05:34 GMT 2026

काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको इतिहासमै सबैभन्दा ठुलो व्यापारिक कारोबार हो।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। तर यस वर्ष वार्षिक अवधि पूरा हुनुअघि नै उक्त रेकर्ड तोडिएको छ। नेपालले तेस्रो पटक २० खर्ब रुपैयाँभन्दा माथिको वैदेशिक व्यापार गरेको हो।

११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

यसैगरी, निर्याततर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। २०८१/८२ को पहिलो ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

यो नेपालको इतिहासमै सबैभन्दा उच्च निर्यात हो। गत आर्थिक वर्षको पूरै १२ महिनामा भएको २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँको निर्यातलाई समेत यस वर्ष ११ महिनामै उछिनेको छ।

निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा अझै कमजोर रहेको देखिन्छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्ष १३.०८ प्रतिशत रहेकोमा यस वर्ष १२.८० प्रतिशतमा सीमित भएको छ। विपरीत रूपमा आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।

आयात र निर्यात दुवै बढेसँगै व्यापार घाटा पनि फराकिलो बनेको छ। विभागका अनुसार ११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँको तुलनामा १५.६७ प्रतिशतले बढी हो।

आयात–निर्यात अनुपात पनि बढेर ६.८१ पुगेको छ। अघिल्लो वर्ष सो अनुपात ६.६४ थियो। यसले नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरिरहेको देखाउँछ।

निर्यात वृद्धिमा सबैभन्दा ठूलो योगदान सोयाबिन तेलको रहेको छ। नेपालले ११ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात गरेको छ।

तेस्रो मुलुकबाट आयात गरिएको कच्चा सोयाबिन तेल प्रशोधन गरी मुख्यतः भारत निर्यात गर्ने गरिएको छ। निर्यात हुने वस्तुमध्ये दोस्रो स्थानमा अलैँची रहेको छ। यस वर्ष १२ अर्ब १ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ, जुन गत वर्षको वार्षिक निर्यातको तुलनामा झण्डै दोब्बर हो। तेस्रो स्थानमा ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ। त्यसपछि सूर्यमुखी तेल ७ अर्ब ९९ करोड रुपैयाँ र पाम आयल ६ अर्ब १४ करोड रुपैयाँ बराबर निर्यात भएको छ।

आयाततर्फ भने इन्धनले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। ११ महिनामा डिजेल आयातमा १ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ भने कच्चा सोयाबिन तेल आयातमा १ खर्ब १९ अर्ब रुपैयाँ विदेशिएको छ। पेट्रोल आयातमा ६८ अर्ब १७ करोड रुपैयाँ र एलपी ग्यास आयातमा ५२ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ।

त्यस्तै ४३ अर्ब ४५ करोड रुपैयाँका स्मार्टफोन, २५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सुन तथा सवारीसाधन र पार्टपुर्जाको आयातमा १ खर्ब १२ अर्ब रुपैयाँ विदेशिएको छ। तथ्यांकअनुसार इन्धन आयातमा मात्रै ३ खर्ब ४३ अर्ब रुपैयाँ खर्च भएको छ भने वनस्पति तेल तथा घिउ उद्योगका लागि आवश्यक कच्चापदार्थ आयातमा १ खर्ब ६२ अर्ब रुपैयाँ लागत लागेको छ।

यस अवधिसम्म भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार बनेको छ। ११ महिनामा भारतबाट १० खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने नेपालबाट भारततर्फ २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने नेपालले केवल १ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। अर्जेन्टिनाबाट १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) बाट ५० अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

त्यस्तै अमेरिकाबाट २९ अर्ब १० करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालले अमेरिकातर्फ १८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। हाल नेपालले विश्वका १५० भन्दा बढी देशसँग व्यापारिक कारोबार गर्दै आएको छ।

सम्बन्धित विषय:

# वैदेशिक व्यापार

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)