पूर्वपरराष्ट्रमन्त्री आरजुविरूद्ध भ्रष्टाचार मुद्दा दायर
himalpress.com · Mon Jun 22 11:20:28 GMT 2026

काठमाडौँ- पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
राहदानी छपाई प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राणासहित १८ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
राहदानी प्रकरणमा अख्तियारले गरेको अनुसन्धानको क्रममा करिब ८ अर्ब रुपैयाँ हिनामिना भएको पाइएको बताइएको छ।
राहदानी विभागले २०८१ मंसिरमा ६४ लाख थान नयाँ ई–पासपोर्ट आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। बोलपत्र मूल्यांकनका लागि तत्कालीन परराष्ट्रमन्त्री राणाले विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरेकी थिइन्।
त्यस्तै विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी रहने गरी उपसमिति गठन गरिएको थियो। दुवै समितिले राणाले भने अनुसारका कम्पनीको नाममा ठेक्का स्वीकृत गरेको अनुसन्धानमा संलग्न अधिकृतको भनाइ छ।
छपाइको ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले पाएका थिए। मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोड ठेक्का पाएका थिए। यसअघि पासपोर्ट छपाइको ठेक्का पाइरहेको फ्रेन्च कम्पनी आइडिमियाले पाइरहेको थियो।
जर्मनीको कम्पनीले ठेक्का हात पारेपछि मापदण्ड पूरा नै नगरेको जर्मनीको कम्पनीलाई ठेक्का दिएको भन्दै फ्रेन्च कम्पनी सर्वोच्च अदालत पुगेको थियो। त्यो मुद्दा अझै विचाराधीन अवस्थामा छ।
जर्मन कम्पनीले ठेक्का पाए पनि सम्झौताअनुसार राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम सुरु गरेको छैन। तर, ठेक्का प्रक्रिया र सम्झौतामा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारका पदाधिकारीहरुलाई बोलाएर छानबिन गर्न दबाब दिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दबाबमा अख्तियारले राहदानी विभागका निर्देशक तीर्थराज अर्याल, विभागका सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलगायतलाई नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग