मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी छपाइ मुद्दामा अख्तियारले राखेन आरजुको नाम, को–को छन् प्रतिवादी ?

shilapatra.com · Mon Jun 22 11:20:05 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आज विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज अर्यालसहित बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा र राहदानी छपाइ गर्ने जर्मन कम्पनीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवाको भने नाम परेको छैन । आयोगले उनलाई बयानका लागि तीनदिने सूचना जारी गरेको थियो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले प्रतिवादीको सूचीमा आरजुको नाम नरहेको जानकारी दिइन् ।

आयोगले अहिले हिरासतमा रहेका परराष्ट्र मन्त्रालयका सहसचिव अर्यालसहित सुनिलकुमार केसी, तुलसीप्रसाद अचार्य, राजाराम दाहाल, भेषराज भुर्तेल, सोमेश थापा, सिद्धार्थ थापा, पुस्करराज नेपालविरुद्ध मुद्दा दर्ता गरेको हो । त्यसैगरी जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई प्रतिवादी बनाएको छ ।

राहदानी छपाइ प्रकरणमा आयोगको अनुसन्धानमा करिब ८ अर्ब हिनामिना भएको निचोड निकालेको छ । निकै तीव्र गतिमा भएको अनुसन्धानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगमाथि दबाब पनि बढाएको थियो । ५ मंसिर २०८१ मा परराष्ट्र मन्त्रालयले राहदानी छपाइका लागि जर्मन कम्पनी छनोट गरेको थियो । त्यतिबेला ६४ लाख विद्युतीय राहदानीको ठेक्काका लागि ग्लोबल टेन्डर भएको थियो ।

बोलपत्र मूल्याङ्कनको लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले ९ फागुन २०८१ मा विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्याङ्कन समिति गठन गरेकी थिइन् । त्यही मितिमा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी रहने गरी उपसमिति गठन गरिएको थियो । दुवै समितिले आरजुले भनेअनुसारका कम्पनीको नाममा ठेक्का स्वीकृत गरेको आरोप छ ।

त्यतिबेला उक्त समितिले राहदानी छपाइको ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले लिएका थिए । मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए । भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल हुन् । अहिले यी दुवै जनालाई आयोगले प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३

१७:०५

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)