बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा
annapurnapost.com · Mon Jun 22 11:49:49 GMT 2026

काठमाडौं : बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएका छन्। उनले लेबर पार्टीको नेताबाट पनि राजीनामा दिने घोषणा गरेका हुन्। उनको निर्णयसँगै नयाँ नेता तथा भावी प्रधानमन्त्री चयनका लागि प्रतिस्पर्धाको बाटो खुलेको छ।
डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै स्टार्मरले आगामी आमनिर्वाचनमा लेबर पार्टीलाई नेतृत्व गर्न आफू उपयुक्त नरहेको निष्कर्षमा पुगेको बताए। उनले आफ्नो पदत्यागबारे बेलायतका राजालाई जानकारी गराइसकेको पनि बताए।
स्टार्मरले लेबर पार्टीको शासकीय निकायलाई नयाँ नेता चयनका लागि समयतालिका तय गर्न आग्रह गरेका छन्। उनका अनुसार जुलाई ९ देखि उम्मेदवारी दर्ता खुल्नेछ भने जुलाई १६ मा संसद्को ग्रीष्मकालीन अवकाश सुरु हुनुअघि प्रक्रिया पूरा गरिनेछ।
यदि नेतृत्वका लागि प्रतिस्पर्धा भएमा सेप्टेम्बरमा संसद् पुनः बस्नुअघि नै नयाँ नेता चयन हुने उनले बताए। सत्ता हस्तान्तरण व्यवस्थित र सहज बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नयाँ नेता चयन नभएसम्म आफू प्रधानमन्त्रीकै रूपमा रहने स्टार्मरले स्पष्ट पारे। आफ्नो उत्तराधिकारीलाई पूर्ण र निसर्त समर्थन गर्ने जनाउँदै उनले आफूले दुई वर्षअघि जिम्मेवारी सम्हालेको बेलायतभन्दा अहिलेको बेलायत अझ बलियो र न्यायपूर्ण बनेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
किएर स्टार्मर