मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा पत्नी आरजु राणाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

bishowkhabar.com · Mon Jun 22 11:58:59 GMT 2026

काठमाडौं– राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले अनुसन्धानपछि सोमबार अभियोगपत्र दर्ता गरेको हो ।

मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य तथा जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्ललगायतलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारको अनुसन्धानले राहदानी खरिद प्रक्रियामा करिब ८ अर्ब रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालेको छ ।

आयोगका अनुसार तत्कालीन परराष्ट्रमन्त्री राणाले गठन गरेका बोलपत्र मूल्याङ्कन समिति र प्राविधिक उपसमितिले निश्चित कम्पनीलाई लाभ पुग्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको आरोप छ ।

राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनका लागि जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले क्रमशः ६ अर्ब ५५ करोड र १ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएका थिए ।

यद्यपि, सम्झौताअनुसारको काम सुरु नभएको अवस्थामा खरिद प्रक्रिया र सम्झौतामा सार्वजनिक खरिद नियमावली उल्लङ्घन भएको आशंकापछि अख्तियारले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)