नीलो क्रान्तिमुनिको रातो रगत : छ प्रश्नोत्तरमा बुझौँ गगन थापाले सम्झाएको २०१८ साल काण्ड
shilapatra.com · Mon Jun 22 12:00:45 GMT 2026

आइतबार गीतदेखि मन्तव्यसम्ममा चितवनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ता तथा कलाकारसम्मले नीलो क्रान्ति भन्दै गर्दा नेपाली कांग्रेसका सभापति गगन थापाले नीलो रङमुनिको ‘रातो’ रङको ऐतिहासिक पक्ष सम्झाइदिए । उद्घाटनसत्रको सर्वाधिक चासो र चर्चा गरिएको गगन थापाको मन्तव्यमा उनले एक ठाउँमा भने, ‘आज नीलो झण्डा फहराउन तपाईंले पाउनुभएको छ । झण्डा फहराउँदै गर्दा भुईंमा हेर्नुहोला । त्यहाँ अलिअलि रातो छ ।’
गगनले अगाडि भने, ‘तपाईं जुन ठाउँमा उभिनुभएको छ नि, त्यहीमुनि करिब ५० जना मानिसको लास गाडिएको छ २०१८ सालमा । पञ्चायतको सरकारले काटेर गाडेको छ । तपाईंले भोलि कार्यक्रम गर्ने ठाउँमा पनि थुप्रै साथीहरू गाडिएका छन् ।’
आफू जन्मनुभन्दा १५ वर्षअगाडिको बलिदानको कथा भनेर गगन थापाले रास्वपाका नेता कार्यकर्तालाई इतिहास पढाए । लोकतन्त्र पढाए । र, पढाए नीलो क्रान्ति क्षेत्र दाबी गरिएको जमिनमुनिको रातो रगतको कथा ।
१. २०१८ सालको हत्याकाण्डको पृष्ठभूमि के हो ?
१ पुस २०१७ मा देशको प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले संसद, सरकार सबै भंग गरे । देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, प्रमुख प्रतिपक्षी दलका नेता भरत शमशेरदेखि साना दल नेपाल कम्युनिस्ट पार्टीका नेतासम्मलाई थुने राजा महेन्द्रले ।
२२ पुसमा त उनले सबै दललाई नै प्रतिबन्ध गरे । प्रतिबन्धमा राजा महेन्द्रको तर्क यस्तो थियो, ‘यस नवजागृति र नवनिर्माणका निम्ति उपयुक्त वातावरण सिर्जना गर्ने काममा दलगत राजनीतिबाट बाधा पर्ने हुनाले अहिले भइरहेका राजनीतिक दलहरू र दलगत राजनीतिक उद्देश्यले प्रेरित भएका वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूलाई प्रतिबन्ध लगाइबक्सेका छौँ ।’
२००७ सालको क्रान्तिअनुसार चुनाव पनि समयमै भएन । चुनावबाट आएको संसद र सरकारलाई १८ महिनामै हटाएपछि दलहरू क्रुद्ध भएका थिए । जसरी २००७ सालमा नेपाली कांग्रेसले सशस्त्र संघर्ष गरेर राजाको गद्दी र जनताको प्रजातन्त्र राणाबाट फर्काएको थियो, ठीक त्यसैगरी गुमेको संसदीय प्रजातन्त्र फर्काउन कांग्रेसले हतियार बोक्ने निर्णय गरेको थियो ।
२. देशभर २६ कात्तिकमा सशस्त्र क्रान्ति हुन लाग्दा चितवनमा किन विलम्ब ?
२६ कात्तिक २००७ सालमा राणाविरुद्ध नेपाली कांग्रेसले हतियार उठाएको थियो । त्यही दिनको सम्मानमा राजा महेन्द्रले संसदीय प्रजातन्त्र मासेपछि कांग्रेसले २६ कात्तिक २०१८ बाट सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसले उक्त ‘क्रान्ति दिवस'को उपलक्षमा देशमा प्रजातन्त्र फिर्ता ल्याउन जनतालाई आग्रह गर्दै लेखेको आह्वानपत्रको अन्तिममा उल्लेख थियो, ‘राजाको यो खोक्रो शासनलाई जनताको एकै धक्काले छिन्नभिन्न पारिदिन्छ । चाहिएको छ संघर्ष । जतिसक्दो सहयोग दिनुहोस् । जय नेपाल ।'
तर, चितवनमा भने २६ माघबाट मात्रै सशस्त्र क्रान्ति सुरु गरिएको बताउँछन् २०१८ सालको काण्डबारेमा ‘बखान’ नामक पुस्तक लेखेका पत्रकार वसन्त पराजुली । चितवनमा सशस्त्र संघर्ष गर्ने बेलासम्ममा पहिलो संसदीय निर्वाचनबाट आएको प्रमुख प्रतिपक्षी दल नेपाल राष्ट्रवादी गोरखा परिषद् पनि कांग्रेसमा विलय भइसकेको थियो ।
डा. राजेश गौतमले लेखेको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग ३’का अनुसार १४ पुस २०१८ मा गोरखा परिषद्का नेता भरत शमशेरले कांग्रेसमा जोडिएको घोषणा गरेका थिए । उनले भनेका थिए, ‘हामीले नेपालमा संसदीय प्रजातन्त्रको पुनर्स्थापनाका निम्ति आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गरी जनरल सुवर्ण शमशेरको सवल नेतृत्वमा रहेर काम गर्ने निर्णय गरेका छौँ ।’
३. को–को थिए कांग्रेसको चितवनको सशस्त्र संघर्षका अगुवा ?
चितवनको हतियारधारी आक्रमणको योजनामा खासगरी पाँच समूह जोडिएका थिए । पहिलो समूह महेश्वरलाल श्रेष्ठ, नारायणप्रसाद जोशी, बुद्धिसागर ढकाल, नायक चन्द्रबहादुर शाही जोडिएका थिए । उनीहरूको रुट भारतको रामनगरहुँदै क्रमशः माडी, गीतानगर, प्रेमबस्ती भएर भरतपुर पुग्नु थियो ।
दोस्रो टोलीको रुट गीतानगरको बाटोहुँदै भरतपुर पुग्नुपर्ने थियो, जसमा लालध्वज गुरुङ, बुद्धसिंह रानामगर, शमशेरबहादुर गुरुङ, कमलकुमार राई, पद्मबहादुर बस्नेत, सर्वसिंह गुरुङ, सूर्यभक्त अधिकारी आदि थिए ।
तेस्रो टोली भारतबाट माडीहुँदै बघौडाको बाटो तताएर भरतपुर पुग्नुपर्ने थियो, जसमा पहलमानसिंह राई, इमानसिंह गुरुङ, मेजर मेहरध्वज अधिकारी, पर्वतबहादुर गुरुङ, बुद्धिबल गुरुङ, पदमबहादुर गुरुङ, सिंहबहादुर तामाङ, टीकाप्रसाद थपलियालगायत थिए ।
चौथो टोलीको रुट गोदाङ र भुसाल चोकहुँदै भरतपुर पुग्नुपर्ने थियो । दुई दर्जन हाराहारीको समूहमा हरिप्रसाद गुरुङ, जगतप्रकाश जंग शाह, पूर्णबहादुर गुरुङ, दिलबहादुर गुरुङ, भीमबहादुर गुरुङ, रजङ गुरुङ, कपिल देवलगायत थिए । पाँचौँ टोली भने गोवर्धन शर्मा पोखरेल नेतृत्वको थियो । उक्त टोली भरतपुरहुँदै तनहुँ कब्जा गर्न गएको थियो ।
४. कहाँ बन्यो चितवन आक्रमणको योजना ?
चितवनमा सरकारी फौजमाथि गर्ने आक्रमणको योजना भने नवलपरासी गैँडाकोटमा गरिएको थियो । गैँडाकोटका नेपाली कांग्रेसका नेता सूर्यभक्त अधिकारीको घरमा बसेर त्यो सबै योजना बनाइएको थियो । अधिकारी २ माघ २०१८ मा चितवन पुगेर आक्रमणको तयारीमा लागेका थिए ।
५. कहिले भयो चितवन कब्जा ?
२६ माघ २०१८ मा भरतपुर नेपाली कांग्रेसका लडाकुले कब्जा गरेका थिए । भरतपुरको अतिथिगृहमा नेपाली कांग्रेसको झण्डा राखियो भने तस्वीर बीपी कोइरालाको राखियो । भरतपुरदेखि हेटौँडासम्मका पुल भत्काइएका थिए भने भरतपुरका विमानस्थल विमान बस्नै नसक्ने गरी ध्वस्त पारिएको थियो । यी सबै कुराले कांग्रेसी लडाकु ढुक्क थिए कि अब केही हुँदैन ।
६. कसरी भयो राज्यको दमन र हत्या ?
सडकका मूल पुलहरू भत्काइएका थिए । विमानस्थल ध्वस्त बनाइएको थियो । तर पनि शाही सेनाले विकल्प ल्यायो । खोलामा सालका काठ लगाएर गाडी तार्यो भने चितवन आउन सिमरा विमानस्थल प्रयोग गरेर हेटौँडाहुँदै चितवन हानियो ।
भरतपुर कब्जा गरिएको ठीक दुई दिनलगत्तै सरकारी फौजले चितवन कब्जा गर्यो । जो–जो भेट्छ, उसैलाई मार्न थाल्यो । काट्न थाल्यो । गाड्न थाल्यो । भागेर पोखरातर्फ जानेलाई त कोत्रे खोलामा मारेर फाल्यो । जगतप्रकाश जंग शाह राजपरिवारको नातेदार भएकाले तत्काल सेनाले मारेन । तर, काठमाडौंमा सूचना लगेपछि राजा महेन्द्रले मार्दा हुन्छ भनेपछि भरतपुर गेस्ट हाउसमा कठोर यातना दिएर उनलाई मारिएको थियो । धेरै घर जलाइएका थिए । एक खाले राज्य आतंकको सिर्जना भएको थियो ।
कस्तोसम्म आतंक थियो भने भरतपुरबाट भागेर लमजुङ पुगेका टेकबहादुर गुरुङलाई शाही सेनाले पक्राउ गरेर गोरखा लग्यो । टाउको गिँडेर सार्वजनिक प्रदर्शन गर्यो । भरत गुरुङलाई पक्राउ गरेर पोखरा लाने भनियो । लाँदै गर्दा बाटोमा पानी खान लाग्दा गोली हानेर ढालियो ।
रौतहट पुगेका रामविलास यादव र बालदेवलाई वीरगंज ल्याउने नाममा बाटामै हत्या गरियो । रामबहादुर तामाङलाई माडीको घरबाट उठाएर चितई खोलामा लगेर हत्या गरियो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
१७:४५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ