मेसीको नजर थप कीर्तिमानमा !
neplays.com · Mon Jun 22 12:30:00 GMT 2026
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसी फिफा विश्वकप २०२६ मा थप नयाँ इतिहास रच्ने संघारमा छन् । जारी विश्वकप अन्तर्गत सोमबार नेपाली समय अनुसार राति पौने ११ बजे डलास स्टेडियममा हुने समूह 'जे' को महत्वपूर्ण खेलमा अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दा ३८ वर्षीय फुटबल लेजेन्ड मेसीको प्रदर्शन र नयाँ कीर्तिमानमाथि विश्वभरकै नजर रहनेछ ।
पहिलो खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दा सानदार ह्याट्रिक गरेका मेसी आफ्नो खेल जीवनको उच्च लयमा देखिएका छन् ।
अल्जेरियाविरुद्धको खेल मेसीको अर्जेन्टिनाका लागि २०० औं सिनियर खेल थियो, जहाँ उनले विश्वकप इतिहासकै सबैभन्दा पाको उमेर (३८ वर्ष ३५७ दिन) मा ह्याट्रिक गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान समेत भंग गरे ।
लगातार पाँच विश्वकप खेलमा गोल गरिसकेका मेसीले अस्ट्रियाविरुद्ध थप एक गोल गरेमा लगातार ६ विश्वकप खेलमा गोल गर्ने फ्रान्सका जुस्ट फन्टेन र ब्राजिलका जइर्जिन्योको सर्वकालीन कीर्तिमानसँग बराबरी गर्नेछन् ।
यसका साथै, अस्ट्रियाविरुद्ध मैदान उत्रँदा मेसीको सामु अन्य थुप्रै कीर्तिमान तोड्ने अवसर छ । हाल विश्वकपमा १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरीमा रहेका मेसीले अर्को एक गोल गरेमा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन् ।
यदि उक्त गोल डिबक्स बाहिरबाट भएमा विश्वकपमा सर्वाधिक 'लङ-रेन्ज' गोल गर्ने कीर्तिमान पनि उनको नाममा हुनेछ । त्यस्तै, अस्ट्रियाविरुद्धको खेल जितेमा मेसीले विश्वकपमा व्यक्तिगत १७ औं जित दर्ता गर्दै सर्वाधिक खेल जित्ने क्लोजको कीर्तिमानसँग बराबरी गर्नेछन् ।
विश्वकपमा सर्वाधिक खेल (२७), सर्वाधिक मिनेट (२,३९४) र लगातार ६ वटा विश्वकप खेल्ने एकमात्र खेलाडीको कीर्तिमान मेसीले यसअघि नै आफ्नो नाम गरिसकेका छन् ।
यद्यपि, मुख्य प्रशिक्षक राल्फ राङ्गनिकको रणनीतिक नेतृत्वमा रहेको अस्ट्रिया अर्जेन्टिनाका लागि सहज प्रतिद्वन्द्वी हुने छैन ।
आफ्नो पहिलो खेलमा जोर्डनलाई ३-१ ले हराएको अस्ट्रिया पछिल्ला १२ खेलमध्ये १० मा जित र मात्र १ मा हारको सानदार नतिजासहित बलियो लयमा छ ।
रक्षात्मक रूपमा निकै अनुशासित मानिएको अस्ट्रियाविरुद्ध उपाधि रक्षाको लक्ष्यमा रहेको अर्जेन्टिना र कीर्तिमानको खोजीमा रहेका मेसीको परीक्षा रोचक हुने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा