तीजको रौनकः सल्यानमा परम्परागत चर्खे पिङको उत्साह
gorkhapatraonline.com · Mon Sep 14 12:10:24 GMT 2026

हिन्दु नारीको महान पर्व हरितालिका तिजको अवसरमा सल्यानका ग्रामीण भेगमा तिजको छुट्टै रौनक देखिएको छ । पछिल्लो समय प्रविधिको विकास र आधुनिकतासँगै मौलिक संस्कृति तथा परम्परागत पिङहरू लोप हुँदै गएका बेला सल्यानका विभिन्न गाउँमा भने परम्परागत चर्खे पिङ हाल्ने र खेल्ने चलन अझै कायमै रहेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३, लामिडाँडामा पनि पिङ हालेर गाउँका स्थानीय र तिज मनाउन माइतीघर आएका चेलीबेटी पिङ खेल्दै, नाचगान गर्दै रमाइलो गरिरहनु भएको छ । स्थानीय बासिन्दा परम्परागत काठ र बाँसको प्रयोग गरेर निर्माण गरिएको चर्खे पिङमा झुम्मिने गर्नुभएको छ । काठका ठुला खम्बा र काठकै संरचना जोडेर बनाइने यो चर्खे पिङ घुमाउनका लागि तल्लो भागमा युवाहरूले बल लगाउनुपर्ने हुन्छ । गत बर्ष सुरक्षित ओतमा राखिएका खम्बा, धुरी काठ, पाङ्ग्रा, बारा, फल्ले लगायतका सामान तथा नजिकैको सामुदायिक बनबाट आवश्यक काठ ल्याएर तिजको अघिल्लो दिन आइतबार पिङ जडान गरिएको स्थानिय रुद्रबहादुर बाँठाले बताउनुभयो । तर यसपटक विगतमा जस्तो आकर्षण र धेरै मानिसहरुको जमघट भने छैन । पहिले पहिले पिङ हाल्न, तिजको दिनमा रमाइलो गर्न धेरै मानिसहरुको जमघट हुन्थ्योू, बाँठाले भन्नुभयो, ूविभिन्न कारणले सहभागिता घट्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)