बालेनले सरकार सम्हालेयता १२३ देशसँग व्यपार घाटा
bishowkhabar.com · Mon Jun 22 13:10:23 GMT 2026

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा कुल १८ खर्ब ९४ अर्ब रुपैयाँको आयात हुँदा २ खर्ब ७७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ ।
आयात १५.१६ प्रतिशत र निर्यात १२.२८ प्रतिशतले बढे पनि आयातको गति उच्च रहेकाले व्यापार घाटा झन् चुलिएको हो ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२ प्रतिशत र निर्यातको हिस्सा १२.८ प्रतिशत मात्र रहेको छ ।
हाल नेपालले १ रुपैयाँको वस्तु निर्यात गर्दा ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरिरहेको छ ।
आयाततर्फ पेट्रोलियम पदार्थ ३ खर्ब ४३ अर्ब रुपैयाँसहित पहिलो स्थानमा रहेको छ भने वनस्पतिजन्य घ्यू–तेल, मेसिनरी, फलाम–स्टिल, विद्युतीय उपकरण र सवारी साधन प्रमुख आयातित वस्तु हुन् ।
निर्याततर्फ १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको प्रशोधित वनस्पति तथा पशुजन्य घ्यू–तेल पहिलो स्थानमा रहेको छ ।
चिया, कफी, अलैँची, मसलाजन्य वस्तु, सिन्थेटिक धागो र गलैँचा पनि प्रमुख निर्यातित वस्तुमा पर्छन् ।
नेपालले १५७ देशसँग व्यापार गरेकामा १२३ देशसँग व्यापार घाटा र ३४ देशसँग मात्र नाफा कमाएको छ ।
भारतसँग सबैभन्दा ठूलो ८ खर्ब ६३ अर्ब रुपैयाँ र चीनसँग ३ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा रहेको छ ।
यद्यपि डेनमार्क, अमेरिकन सामोआ, इराक, आइसल्यान्ड, नर्वे, सेसेल्स, मालदिभ्सलगायत ३४ देशसँग नेपालको व्यापार नाफामा रहेको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ