खेताला गाउँमै भेटियोस्
rajdhanidaily.com · Tue May 09 23:18:18 GMT 2023
अर्घाखाँचीमा मकै छर्न हल गोरु र खेताला नपाएर स्थानिय हैरान छन् । युवा पुस्ता भविष्य खोज्न भन्दै बैदेशिक रोजगारिमा हानिएपछि घर रुंगेर बसेका बुढा बुढीलाई भित्रीबारीमा मकै रोप्न पनि समस्या छ । यो केबल अर्घाखाँचीको मात्रै समस्या हैन । सिंगै देशमा यस्तै समस्या छन् । काम गर्ने मान्छे अभावकै कारण पहाडी क्षेत्रमा खेतीयोग्य जमिनमा पाति फूल्न थालेको छ भने तराईमा काँस उम्रेको छ । कुनै समय एकहल गोरु, एउटा लैनो भैसीलाई अनिवार्य आवश्यकता मान्ने नेपाली किसान अहिले यति कमजोर भएका छन्, न हल गोरु पाल्ने हिम्मत गर्छन् न त लैनो भैंसीकै जोहो गर्ने सक्छन्
२०÷२२ वर्ष उमेर कटेपछि श्रम गर्नका लागि विदेश जानै पर्ने लहरले नेपाली गाउँ क्रमश ध्वस्त हुँदैछ । यदि कुनै कारण विदेश जान भिसा लागेन भने पनि शहरमै रुमल्लिन पर्ने अर्को भ्रमले पनि गाउँका घर रित्ता हुँदैछन् । जुन घरमा मानबिय चहल पहल छ त्यो पनि मात्रै बुढा बुढीको भरमा । गाउँ रित्तिदै जानु, शहर भरिँदै जानु आफैंमा एउटा समस्या हो । स्थानिय सरकार गठनसंगै विकासको चक्र शहरबाट गाउँतीर उकालो लागे पनि युवा पुस्तालाई आफ्नै गाउँप्रति विश्वास नहुनु अर्को ठूलो समस्या हो । अहिले मकै रोप्ने खेताला पाइएन, भोली खेत रोप्ने खेताला नपाइएला यहि क्रम जारी रहे एकदिन मलामी जाने मान्छेकै पनि अभाव हुन सक्छ । तशर्थ गाउँघरप्रति युवा पुस्ताको विकर्षण रोक्नका लागि विषेश योजना बनाउन ढिला भैसकेको छ । कुनै पनि गाउँ सम्पन्न हुनका लागि पक्की सडक वा भब्य भवन बनाएर मात्रै हुँदैन गाउँलाई जिवित राख्नका लागि मानविय चहल पहल पनि जरुरी छ । त्यसका लागि केबल ‘गाउँमै बस हावापानी राम्रो छ’ भनेर मात्रै हुँदैन । गाउँमा बस्न प्रेरित गर्ने खालका विषेश योजनाहरु ल्याउनु पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)