मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक सवारीका चालकमा लागु पदार्थ सेवन गर्ने प्रवृत्ति बढ्दो

gorkhapatraonline.com · Mon Jun 22 13:24:17 GMT 2026

मकवानपुरमा पछिल्लो समय सार्वजनिक सवारी साधनका चालकमा लागु पदार्थ सेवन गर्ने सवारी चलाउने प्रवृत्ति बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर र जनस्वास्थ्य कार्यालय, मकवानपुरले सवारी चालकमा गरेका लागु पदार्थ सेवन जाँचका क्रममा यस्तो भेटिएको हो ।

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्वको ३९ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौँडामा सवारी चालकहरुमा लागु पदार्थ सेवन जाँच गर्दा १० जना चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाउने गरेको भेटिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. २ चौकीटोल र वडा नं. १५ रातोमाटेमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र जनस्वास्थ्य कार्यालय, हेटौँडाकोे सहकार्यमा सवारी चालक र सहचालकलाई लक्षित गरी लागु पदार्थ सेवन जाँच गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

लामो तथा छोटो दुरी चल्ने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी चालक गरी ११० जनाको स्वास्थ्य परीक्षण गर्दा १० जना सवारी चालकले लागु पदार्थ (गाँजा) सेवन गरेको पाईएको उहाँले बताउनुभयो । लागु पदार्थ सेवनकर्ता चालकमाथि लागुऔषध सेवन मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा कलैया उपमहानगरपालिका वडा नं. ७ का २० वर्षीय मोस्तकी अन्सारी, गोरखा जिल्लाको सहिद लखन गाउँपालिका ३ का २६ वर्षीय निर्मल श्रेष्ठ, ईटहरी उपमहानगरपालिका ७ का २७ वर्षीय अन्जित चौधरी, वीरगञ्ज महानगरपालिका २७ का ४० वर्षीय राम नारायण मण्डल र सर्लाहीको लालबन्दी नगरपालिका १५ का ३४ वर्षीय अमिर योन्जन रहेका छन् ।

यस्तै, रौतहटको ईश्नाथ नगरपालिका ५ का ३५ वर्षीय पुकार यादव, हेटौँडा उमहानगरपालिका १५ का २३ वर्षीय रोहन लामा, महोत्तरीको बर्दिबास नगरपालिका १४ का २७ वर्षीय रुद्रप्रसाद दाहाल, रौतहटको फतुवाविजयपुर नगरपालिका ६ का ३३ वर्षीय उमेश राय यादव र वीरगञ्ज महानगरपालिका १२ का ३४ वर्षीय मैनिदिन मियालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)