मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरजुविरुद्धको उजुरी पछि जगाउने गरी तत्कालका लागि ‘मुलतबी’मा

baahrakhari.com · Mon Jun 22 13:41:46 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विषयमा विशेष अदालतको निर्णयपछि मात्र अनुसन्धान गर्ने भएको छ ।

अख्तियार स्रोतका अनुसार राहदानी छपाइ प्रकरणको ठेक्का प्रक्रियामा भ्रष्टाचारजन्य कार्यमा आशंका रहे पनि पछि भिन्नै अनुसन्धान गर्ने गरी हालका लागि उजुरी मुलतबीमा राखिएको छ । "अदालतको निर्णयपछि के हुन्छ, सोही अनुरुप अनुसन्धान गर्ने गरी तत्काललाई उजुरी मुलतबीमा रहेको छ," अख्तियार स्रोतले बाह्रखरीलाई बतायो ।

राहदानी छपाइ ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध सोमबार (असार ८) अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको छ ।

उक्त प्रकरणमा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ । राहदानी छपाइमा भएको अनियमिततालाई लिएर तत्कालीन परराष्ट्रमन्त्री राणालाई पनि अख्तियारले बयानमा बोलाएको थियो ।

यसअघि अख्तियारले अनुसन्धानको सिलसिलामा बूढानीलकण्ठस्थित देउवा निवासमा म्याद टाँसेर आरजुलाई बयानमा लागि डाकेको थियो । उनले भने हङकङबाट इमेल पठाएर उपचारका क्रममा रहेकाले अहिले आफू आउन नसक्ने जवाफ दिएकी थिइन् ।

#अख्तियार दुरूपयोग अनुसन्धान आयोग

#विशेष अदालत

#आरजु राणा देउवा

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)