स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
barnanmedia.com · Mon Jun 22 14:55:55 GMT 2026

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी बापतको रकम भुक्तानी पठाएको छ ।
बोर्डको आज सोमबार बसेको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को स्वीकृत तथा रुजु भएको दाबी रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो ।
अर्थ मन्त्रालयबाट असार ४ गते निकास भएको रकमबाट यो भुक्तानी मिलाइएको बोर्डले जनाएको छ । बोर्डले ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब ८ हजार २ सय ३३ रुपैयाँ पठाएको छ ।
भुक्तानी प्रक्रियामा बोर्डको साबिकको नियमानुसार दाबी भुक्तानी बापत स्वीकृत रकमको दुई प्रतिशत रकम कट्टा गरेर मात्र बाँकी रकम पठाइएको छ ।
विगतका पेस्कीहरू फर्छ्यौट गरी बाँकी रहेको तथा स्वीकृत भएको दाबी रकम अनुसार यो भुक्तानी गरिएको हो । सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानीको जानकारी गराइएको बोर्डका उपसचिव पुष्प प्रसाद गुरागाईँले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)