कसले जित्यो युद्ध ? ९२ प्रतिशत इजरायली भन्छन्– इरान विजयी भयो
baahrakhari.com · Mon Jun 22 15:11:11 GMT 2026

काठमाडौं । इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणले हालैको युद्ध र अमेरिका–इरान सम्झौताप्रति इजरायली जनमतबारे चकित पार्ने तथ्य सार्वजनिक गरेको छ ।
सर्वेक्षणअनुसार करिब ९२ प्रतिशत इजरायली नागरिकहरूले उक्त युद्ध र त्यसपछिको सम्झौतामा इरान विजयी भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी राजनीतिक खेमाका समर्थकहरूमाझ यो संख्या अझ बढी अर्थात् ९३.१ प्रतिशत रहेको छ ।
नेतन्याहूको व्यक्तिगत लोकप्रियता पनि निरन्तर ओरालो लागेको देखिएको छ । जुन महिनामा उनको समर्थन घटेर करिब २९ प्रतिशतमा सीमित भएको छ । अधिकांश इजरायलीहरूले यो युद्धले दीर्घकालीन रूपमा इजरायलको सुरक्षा अवस्था कमजोर बनाएको बताएका छन् ।
यस्तो अवस्थामा आफ्नै देशभित्र गहिरिँदो अविश्वासको सामना गरिरहेका नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको चेतावनीका बाबजुद लेबनानविरुद्ध सैन्य कारबाही किन जारी राखिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ ।
‘हिब्रु युनिभर्सिटी’ र ‘अगम इन्स्टिच्युट’ले जुन १७ देखि २० सम्म सञ्चालन गरेको यस सर्वेक्षणमा १७ वर्षभन्दा माथिका तीन हजार ६४४ इजरायली नागरिकको धारणा समेटिएको थियो । सर्वेक्षणको मार्जिन अफ एरर २.२ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
‘टाइम्स अफ इजरायल’ले प्रकाशित गरेको तथ्यांकअनुसार ९२.१ प्रतिशत इजरायलीहरूले इरानलाई यस संघर्षको विजेता मानेका छन् । दक्षिणपन्थी समर्थकहरूमध्ये यो प्रतिशत ९३.१ रहेको छ । साथै, ८२.९ प्रतिशत सहभागीहरूले इरानविरुद्ध गरिएको ६ हप्ते सैन्य अभियानले इजरायलको दीर्घकालीन सुरक्षालाई कमजोर बनाएको बताएका छन् ।
त्यस्तै, ८६ प्रतिशत सहभागीहरू युद्धको परिणाम र अमेरिका–इरान सम्झौताप्रति असन्तुष्ट देखिएका छन् ।
सर्वेक्षणमा इजरायलले आफ्ना रणनीतिक उद्देश्यहरू हासिल गर्न सफल भयो वा भएन भन्ने विषयमा पनि प्रश्न सोधिएको थियो । इरानको आणविक कार्यक्रम रोक्ने, मिसाइलको खतरा समाप्त गर्ने तथा त्यहाँको सत्ता परिवर्तन गर्ने जस्ता लक्ष्यहरू पूर्ण वा आंशिक रूपमा हासिल गर्न नसकेको ८७.८ प्रतिशत इजरायलीहरूको धारणा रहेको छ ।
हमास र हिज्बुल्लाहविरुद्ध घोषणा गरिएको ‘पूर्ण विजय’को लक्ष्यका सन्दर्भमा केवल १२.२ प्रतिशतले मात्र अधिकांश लक्ष्य पूरा भएको बताएका छन् । ६१.३ प्रतिशतले कुनै लक्ष्य हासिल नभएको र २६.५ प्रतिशतले केही लक्ष्य मात्र हासिल भएको प्रतिक्रिया दिएका छन् ।
सर्वेक्षणले इजरायली नेतृत्वप्रतिको गहिरिँदो अविश्वासलाई पनि उजागर गरेको छ । सहभागीहरूमध्ये ७२.५ प्रतिशतले नेतन्याहूको “इजरायलले ठूलो सफलता हासिल गरेको छ र अस्तित्वमाथिको संकट टरेको छ” भन्ने दाबीलाई विश्वास गरेका छैनन् ।
युद्धकालीन नेतृत्वका सन्दर्भमा ५६.४ प्रतिशत सहभागीहरूले नेतन्याहूको कार्यसम्पादन असफल वा कमजोर रहेको बताएका छन् । केवल २६.५ प्रतिशतले उनको युद्ध व्यवस्थापन राम्रो वा उत्कृष्ट रहेको मानेका छन् । १७.१ प्रतिशतले यसलाई सामान्यस्तरको बताएका छन् ।
सर्वेक्षणले नेतन्याहूले चुकाउनुपरेको राजनीतिक मूल्य पनि देखाएको छ । प्रधानमन्त्री पदका लागि उनको समर्थन मार्च महिनाको सुरुआतमा ४०.५ प्रतिशत रहेकोमा जुन महिनामा आइपुग्दा २९.४ प्रतिशतमा झरेको छ ।
इजरायली जनमतमा अमेरिकी राष्ट्रपति ट्रम्पप्रति पनि असन्तुष्टि देखिएको छ । ६९.१ प्रतिशत सहभागीहरूले ट्रम्पको युद्ध व्यवस्थापनलाई असफल वा कमजोर ठहर गरेका छन् ।
अर्कोतर्फ, सर्वेक्षणले लेबनानमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाहीलाई लिएर जनमत विभाजित रहेको पनि देखाएको छ । सहभागीहरूलाई ट्रम्पसँग मतभेदको जोखिम भए पनि हिज्बुल्लाहविरुद्ध ठूलोस्तरको सैन्य अभियान पुनः सुरु गर्नुपर्ने वा नपर्ने भन्ने प्रश्नमा ४८.२ प्रतिशतले समर्थन गरेका थिए । २०.९ प्रतिशतले विरोध गरेका थिए भने ३०.९ प्रतिशत सहभागी अनिश्चित रहेका थिए ।
नेतन्याहू सरकारप्रतिको घट्दो जनविश्वास र उनको कमजोर हुँदै गएको लोकप्रियताका बीच लेबनानमा जारी सैन्य कारबाहीको राजनीतिक अर्थबारे बहस तीव्र बनेको छ ।
इरानसँगको युद्धपछि इजरायली समाजमा बढेको निराशा र सुरक्षासम्बन्धी चिन्ताका कारण नेतन्याहूले लेबनानमा कठोर नीति अपनाएर आफ्नो राजनीतिक आधार जोगाउन वा मजबुत बनाउन खोजिरहेका हुन सक्ने विश्लेषणहरू भइरहेका छन् ।
हिजबुल्लाहजस्ता सुरक्षा चुनौतीलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने धारणा समाजको एक हिस्सामा बलियो देखिएको छ । त्यसैले लेबनानविरुद्धको सैन्य कारबाही केवल सुरक्षा रणनीति मात्र नभई नेतन्याहूका लागि राजनीतिक रूपमा पनि महत्त्वपूर्ण विषय बनेको देखिन्छ ।
यद्यपि, यसले इजरायलको आन्तरिक राजनीति तथा सम्पूर्ण मध्यपूर्वको सुरक्षा अवस्थालाई दीर्घकालीन रूपमा कसरी प्रभावित गर्नेछ भन्ने प्रश्न भने अझै खुला नै रहेको छ ।
#इजरायल
#लेबनान
#अमेरिका–इरान
#इरान युद्ध
#नयाँ सर्वेक्षण
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
डोनाल्ड ट्रम्प
इजरायल