मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी दलका नेताहरूलक्षित प्रतिशोधपूर्ण हर्कत तत्काल बन्द गरियोस् : ओली

baahrakhari.com · Mon Jun 22 16:10:25 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूमाथि लक्षित निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन् । सोमबार पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओेलीले भनेका छन्, “वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ । विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।”

उपाध्यक्ष पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको भन्दै उनले भर्त्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “नेकपा एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी एमालेमाथि लगातार भइरहेका श्रृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।”

उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो ।

विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा पौडेलकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको ओलीको आरोप छ ।

सार्वजनिक पदधारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको पनि उनले उल्लेख गरेका छन् ।

“सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,” ओलीले भनेका छन् ।

सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन ओलीले आह्वान गरेका छन् ।

#केपी शर्मा ओली

#नेकपा (एमाले)

#विपक्षी दल

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय