विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
ratopati.com · Mon Jun 22 16:19:13 GMT 2026

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ ।
पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए ।
उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउन खोजिए पनि उडान बन्द भइसकेकाले सडक मार्गबाट काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।
पौडेललाई इन्स्पेक्टर श्याम प्रसाद यादव नेतृत्वको टोलीले काठमाडौं लिएर आउँदैछन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ घर भएर ललितपुरको भैंसेपाटी बस्दै आएका पौडेल नेकपा (एमाले)का उपाध्यक्षसमेत हुन् । सुर्खेतमा पार्टीको कार्यक्रममा सहभागी हुन गएका पौडेललाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्राचार गरेको थियो ।
सम्पत्ती शुद्धीकरण मुद्दामा पुर्पक्षमा रहेका व्यवसायी दीपक भट्टसँग जोडिएको मुद्दामा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । २०८२ चैत १९ मा पक्राउ परेका भट्ट हाल कारागार कार्यालय डिल्लीबजारमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ