मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

ratopati.com · Mon Jun 22 17:00:54 GMT 2026

काठमाडौं । प्रतिनिधि सभा सदस्य विदुषी राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

सोमबार उम्मेदवारी घोषणा गर्दै व्यवसायी समेत रहेकी राणाले नेपाली माटो, नेपाली श्रम र नेपाली सीपप्रति विश्वास राख्दै आफूले व्यवसायिक यात्रामार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने प्रयास गर्दै आएको बताइन्।

उनले आफ्नो व्यवसायिक यात्राका क्रममा नेतृत्व, व्यवस्थापन, जवाफदेहिता र परिणाममुखी कार्यशैलीको अनुभव हासिल गरेको उल्लेख गर्दै अब उक्त अनुभव र ऊर्जालाई पार्टी संगठनलाई अझ बलियो, प्रभावकारी र जनउत्तरदायी बनाउन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र समृद्ध नेपालको अभियानलाई संस्थागत रूपमा थप सशक्त बनाउन आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताइन्।

उनले पार्टीको संगठन निर्माण, नीति कार्यान्वयन तथा जनविश्वास अभिवृद्धिमा योगदान पुर्‍याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टी सदस्य तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरेकी छन् । रास्वपाको पहिलो महाधिवेशन चितवनमा आइतबारदेखि जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)