अर्जेन्टिनाको सानदार जित, मेस्सीको कीर्तिमान
lokaantar.com

लियोनेल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ।
अमेरिकाको डालास रंगशालामा सोमबार मध्यराति ७० हजारभन्दा बढी दर्शकमाझ भएको समूह 'जे' को रोमान्चक खेलमा मेस्सीले दुई गोल गर्दै नयाँ इतिहास रचेका हुन्।
खेलको ३८ औं मिनेटमा फकुन्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा आफ्नो १७ औं गोल पूरा गर्दै क्लोसको १६ गोलको कीर्तिमान उछिनेका थिए।
पहिलो हाफमा १-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि खेल नियन्त्रणमा राखेको थियो।
खेलको अन्तिम समयमा अस्ट्रियाले बराबरी गर्ने केही प्रयास गरे पनि सफल हुन सकेन। ९० मिनेटपछिको थप गरिएको समयमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। जुलियन अल्भारेजको प्रहार विफल भएपछि प्राप्त अवसरलाई मेस्सीले गोलमा परिणत गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याएका छन्।
अस्ट्रियाका लागि मार्सेल साभिट्जर र केभिन डान्सोले गोल गर्ने केही अवसर सिर्जना गरे पनि अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विपक्षीलाई गोलरहित राखे।
खेलको उत्तराद्र्धमा अस्ट्रियाले दबाब बढाउन खोजे पनि अर्जेन्टिनाको रक्षापङ्क्ति र मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको प्रदर्शन मजबुत देखिएको थियो।
यस जितसँगै समूह 'जे' मा अर्जेन्टिना बलियो स्थितिमा पुगेको छ। दुवै टोलीले आ-आफ्नो पहिलो खेल जितेका कारण यो खेल समूह विजेताको होडका लागि निकै महत्त्वपूर्ण मानिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)