२०८५ नेपाल भ्रमण वर्ष
gorkhapatraonline.com · Sat May 30 00:53:07 GMT 2026

सरकारले विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पर्यटन विकासका लागि विसं २०८५ लाई नेपाल भ्रमण वर्ष र सन् २०२७ लाई आरोग्य पर्यटन गन्तव्यका रूपमा मनाउन सघन तयारी अगाडि बढाउने घोषणा गर्नुभयो । सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि सात अर्ब ३४ करोड रुपियाँ र नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
त्यसै गरी मन्त्री वाग्लेले नेपाललाई युरोपेली सङ्घको हवाई सुरक्षा सूचीबाट हटाउन आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गरी नियामक र सञ्चालक निकाय छुट्टाछुट्टै बनाउने, नेपाल वायुसेवा निगमलाई कम्पनी मोडेलमा सञ्चालन गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी छ महिनाभित्र यकिन गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा व्यवस्था गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)