कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
barnanmedia.com · Mon Jun 22 22:40:18 GMT 2026

बेलायती राजनीतिमा सोमबार नाटकीय मोड आएको छ । लेबर पार्टीका नेता कीर स्टार्मरले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेको केही घण्टाभित्रै एन्डी बर्नहमले मेकरफिल्डको सांसदका रूपमा शपथ लिँदै पार्टीको नयाँ नेतृत्वका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
यसअघि देशबासीलाई सम्बोधन गर्दै कीर स्टार्मरले आफ्नो राजीनामा घोषणा गरेका थिए । अत्यन्तै भावुक सम्बोधनका क्रममा उनले विशेषगरी आफ्नी पत्नीलाई धन्यवाद दिएका थिए ।
सांसदका रूपमा शपथ लिएको केही समयमै बर्नहमले आफू प्रधानमन्त्रीको उत्तराधिकारीका रूपमा पार्टी नेतृत्वको दौडमा उभिने घोषणा गरेका छन् । उनलाई पूर्व स्वास्थ्य सचिव वेस स्ट्रिटिङले समर्थन गर्ने बताएका छन् । गत महिना मात्र स्टार्मर सरकारबाट बाहिरिएका स्ट्रिटिङले यसअघि आफू पनि नेतृत्वको दौडमा सहभागी हुने संकेत दिएका थिए, तर अहिले उनले बर्नहमलाई साथ दिने स्पष्ट पारेका छन् ।
स्टार्मरले आफ्नो उत्तराधिकारी चयन नभएसम्म प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालिरहने बताएका छन् । नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी सेप्टेम्बरमा संसद सुचारु हुनुअघि नै सम्पन्न गरिने लक्ष्य राखिएको छ । यद्यपि, यदि लेबर पार्टी कुनै एक उम्मेदवारको पक्षमा एकजुट भयो र चुनावी प्रतिस्पर्धा नहुने अवस्था आएमा सेप्टेम्बर अगावै नयाँ प्रधानमन्त्री चुनिन सक्ने सम्भावना पनि रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)