मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरियामा लुटतन्त्र: वृक्षारोपणको कमिसन बाँड्दै गरेका कर्मचारीको तस्बिर सार्वजनिक

hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026

वीरगञ्ज। कुशासन र अनियमितताको अखडा बन्दै गएको पर्साको पोखरिया नगरपालिकामा कर्मचारीहरू नै खुलेआम कमिसनको खेलमा लागेको सनसनीपूर्ण तथ्य बाहिरिएको छ।

विकास निर्माणका योजनामा हुने चरम भ्रष्टाचारलाई पुष्टि गर्ने गरी दुई जना कर्मचारीले नोटको बिटो गनेर भागबन्डा गरिरहेको तस्बिर 'हाम्राकुरा' लाई प्राप्त भएको छ । प्राप्त तस्बिरमा नगरपालिकाका दुई जिम्मेवार अनुहारहरू निर्लज्ज ढंगले घुसको रकम बाँडफाँट गरिरहेको प्रष्ट देख्न सकिन्छ ।

तस्बिरमा सेतो हाफ सर्ट लगाएर बस्ने कर्मचारी कौशलकुमार झा हुन् भने नोटको बिटो गनिरहेका व्यक्ति लेखापालको जिम्मेवारी सम्हाल्दै आएका रामवीर चौरसिया हुन् ।

कार्यालयभित्रै यसरी खुलेआम कमिसनको रकम गनिनुले त्यहाँको दण्डहीनता र संस्थागत भ्रष्टाचारको कहालीलाग्दो अवस्थालाई प्रमाणित गर्दछ ।

झनै लाजमर्दो विषय त के छ भने यो भ्रष्टाचारको पर्दाफास कुनै सुशासनको अभियानले नभई कमिसनको हिस्सा नपाएको झ्वाँकमा भएको हो । वृक्षारोपण जस्तो प्रकृतिको संरक्षण गर्ने ठेक्कामा समेत मोटो रकम कमिसन खाएको र उक्त रकम दामासाही रूपमा अन्य कर्मचारीलाई नबाँडी झा र चौरसियाले मात्रै कुम्ल्याउन खोजेपछि असन्तुष्ट पक्षले नै यो तस्बिर बाहिर ल्याइदिएका हुन् ।

यस घटनाले पोखरिया नगरपालिका जनसेवामा भन्दा पनि कमिसनखोरी र भागबन्डाको घृणित खेलमा चुर्लुम्म डुबेको यथार्थलाई उदाङ्गो पारेको छ। सम्बन्धित निकायले यसरी रंगेहात प्रमाणसहित बाहिरिएको यो प्रकरणमा तत्काल कडा कारबाही गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)